बाढीले कृषिमा आठ अर्ब बढिको क्षति, किसानलाई राहत दिने सरकारी तयारी



सैघाली खबर
काठमाडौं,१ भाद्र 

बाढीका कारण तराईका ३१ जिल्लामा कृषिबाली ८ अर्ब ११ करोड ५२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । धानको पकेट क्षेत्र तराईमा बाढीले सबैभन्दा बढी धानखेती नै क्षति भएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दुई लाख ३६ हजार १ सय ३१ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा असर परेको छ । त्यस मध्ये ४७ हजार २ सय २६ हेक्टर क्षेत्रफलमा धानबाली पूर्णरुपमा नस्ट भएको छ । यो क्षेत्रफलको उत्पादनको मूल्य ३ अर्ब १८ करोड ३० लाख रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी, २० हजार ५ सय ९३ हेक्टर क्षेत्रफलमा गरिएको तरकारी खेती बाढीले प्रभावित भएको छ । त्यसमध्ये ८० प्रतिशत नष्ट भएको मन्त्रालयको अनुमान छ । तरकारीबाली मात्रै २ अर्ब ९६ करोड ५४ लाख रुपैयाँको क्षति भएको छ । दलहन खेतीतर्फ ८ हजार ३ सय ८३ हेक्टर क्षेत्रफलमा क्षति भएको छ । मन्त्रालयका अनुसार २४ करोड १३ लाख रुपैयाँ बराबरको दलहन बाली क्षति भएको छ । माछा पालन गरिएको दुई हजार २ सय २४ हेक्टर क्षेत्रफल प्रभावित भएको मन्त्रालयले जनाएको छ । १ हजार ३ सय २४ हेक्टर क्षेत्रफलको माछा नष्ट भएको प्रारम्भिक तथ्यांक छ । मन्त्रालयका अनुसार १ सय ८८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती क्षति पुगेको छ । १ सय ५५ हेक्टर क्षेत्रफलको तेलहन बाली, १५ हेक्टर क्षेत्रफलमा गरिएको बदाम खेती र तीन सय हेक्टर क्षेत्रफलमा गरिएको बेसार खेतीमा क्षति पुगेको छ । दुई लाख ७२ हजार ६ सय ३० हेक्टर क्षेत्रफलको कृषिबालीमा बाढीले असर गरेको छ । जसमा ७८ हजार ५ सय १५ हेक्टर क्षेत्रफलको कृषिखेती नष्ट भएको छ । क्षतिको विवरण एकिन गरेर कृषि ऋण मिनाहा गर्ने तयारी भइरहेको कृषि विकास मन्त्री रामकृष्ण यादबले बताउनुभयो । उहाँले बिउबिजन तथा मलखाद निशुल्क वितरण गर्ने बताउनुभयो । धानखेतीमा धेरै क्षति भएकोले ५४ लाख मेट्रिक टन धान उत्पादनको लक्ष्य भेटाउन कठिन हुने भन्दै उहाँले छरुवा धान खेतीलाई प्राथमिकता दिने बताउनुभयो । तराईमा स्वर्ण १, साम्बा मनसुली, सवा १ र सेहराङ जातको धान धेरै रोपिएको भन्दै मन्त्रालयले यो धान दुई हप्तासम्म पानीमा डुबेपनि क्षति नहुने जनाएको छ । मन्त्रालयका कर्मचारीले बाढी पीडितलाई सहयोगको समेत घोषणा गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्