अख्तियारका प्रमुख पाठक विरुद्ध छानविन हुने



काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना पूर्वआयुक्त राजनारायण पाठकमाथि घूस लिएर भ्रष्टाचार गरेको आरोपमा छानबिन अघि बढाउने भएको छ अख्तियारको प्रारम्भिक दृष्टिकोणमाथि राय दिँदै महान्यायाधिवक्ता कार्यालयले संवैधानिक निकायका पूर्वपदाधिकारीमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न कुनै संवैधानिक र कानुनी अड्चन नहुने राय दिएको हो ।

‘सार्वजनिक पदमा रहेको र त्यस क्रममा नै पदको दुरुपयोग गरी घूसरिसवत लिएको विवरण सार्वजनिक भएकाले हामीले पूर्वआयुक्त पाठकमाथि भ्रष्टाचारको छानबिन गर्न सकिन्छ भन्ने आफ्नो प्रारम्भिक दृष्टिकोण तय गरेका थियौं,’आफ्नो धारणासहित राय मागेकोमा महान्यायाधिवक्ताबाट समेत अनुसन्धान गर्न सकिने भनी राय आएको छ । अब पाठकमाथि अनुसन्धान अघि बढ्छ ।

 

महान्यायाधिवक्तालेसरकार र सरकारी निकायको कानुनी प्रतिरक्षा गर्नुका साथै आवश्यक परे रायसल्लाह दिने संवैधानिक व्यवस्था छ । महान्यायाधिवक्ता कार्यालयबाट राय लिनुअघि सम्बन्धितविषयमा उक्त निकायले आफ्नो धारणासमेत पेस गर्नुपर्छ ।

अख्तियारको बैठकले आइतबार पाठकमाथि छानबिन गर्नेबारेआफ्नो धारणासहित राय माग्ने निर्णय गरेको थियो । पाठकमाथिको अनुसन्धानलाई परिपक्व बनाउन सुरुमै राय मागेर अघि बढेको अख्तियारस्रोतले बतायो । अख्तियार उच्च स्रोतका अनुसार, महान्यायाधिवक्ता अग्नि खरेलले संविधानको धारा २३९ को उपधारा २ मा भएको व्यवस्थालाई उद्धृत गर्दै त्यही प्रावधानका आधारमा पूर्वआयुक्त पाठकमाथि कारबाही अघि बढाउन सकिने राय दिएका छन् ।

पाठकविरुद्ध उजुरी
आयुक्त पाठकले राजीनामा दिएको ४८ घण्टाभित्रै अख्तियारमा उनका विरुद्ध उजुरी परेको छ । आयोगमा १९४६५ दर्ता नम्बरमा आइतबार दर्ता भएको उजुरीमा आयुक्त पाठकमाथि ‘गैरकानुनी सम्पत्ति आर्जन’को अभियोगमा अनुसन्धान गरी कारबाहीको माग गरिएको छ ।

उजुरीमा पाठकसहित घूस दिने इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने, पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठक लगायतमाथि कारबाहीको माग छ । उजुरीमा भनिएको छ, ‘घूससम्बन्धी कुराकानीको भिडियो मेट्न र प्रमाण नष्ट गर्न सम्बन्धित व्यक्तिमाथि धरपकड गर्ने महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहलाई समेत कारबाही गरिपाउँ।’

पाठकले आफ्नो पदीय हैसियत दुरुपयोग गरी विलासी जीवनयापन गरेको भन्दै ‘गैरकानुनीसम्बन्धी आर्जन’ अभियोगमा समेत छानबिन माग गरिएको छ । उनले काठमाडौंको शान्तिनगरमा ५ करोड रुपैयाँको घर किनेको भन्दै उजुरीमा त्यसको वैधस्रोत नरहेको दाबी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्