एजेन्सी । इन्डोनेसियाको वेस्ट जाभास्थित सुकाबुमी नामक एउटा सानो गाउँमा बस्ने आठ वर्षीय बालक अहिले धेरैका निम्ति प्रेरणाका पात्र बनिरहेका छन् । जन्मदै शारीरिक रुपले अशक्त, अब्दुल होलिकका दुवै खुट्टा चल्दैनन् । तर, यस कमजोरीलाई उनले कहिल्यै आफ्नो पढाइप्रतिको रुचिमा बाधा पु¥याउन दिएनन् ।यसरी दुवै हातमा चप्पल लगाएका अब्दुल हात टेकेरै चट्टानयुयक्त भिरालो बाटो हुँदै ६ किलोमिटर टाढा रहेको विद्यालय सम्मको संघर्षपूर्ण यात्रा गर्ने गर्दछन् ।यसैले, विद्यालयभर उनको बहादुरीको अधिक चर्चा हुने गरे को छ ।
शारीरिक अशक्ततालाई कहिल्यै आफ्नो कमजोरी बन्न नदिएका अब्दुलले तीन वर्षको हुँदादेखि नै आफूलाई विद्यालय पठाउन बिन्ती गर्ने गरेको आमा पिपिन बताउँछिन् ।उनले भनिन् , ‘अब्दुल पढ्न सिक्न चाहान्थ्यो र कसरी अरूजस्तै बन्ने भनेर सोध्ने गर्दथ्यो। तर म आफ्नो अशक्त छोरालाई कहाँ पढाउने भन्नेबारे ठूलो द्विविधामा थिएँ । ’ उनका अनुसार यसै चिन्ताले उनी रातरातभर जाग्ने गर्थिन् । तर केही समयपछि उनले हप्तौँ लगाएर एक विद्यालयको खोजी गरिन् जो अब्दुललाई शारीरिक कमजोरीका बाबजुद अपनाउन तयार थियो ।
तर, सो स्कुल उनको घरबाट ६ किलोमिटर टाढा भएको हुँदा पहिले त पिपिनले अब्दुललाई स्कुल पठाउन सम्भव छैन भन्ने ठानेकी थिइन् । किनकि, त्यो सानो गाउँमा बसलगायत सवारीको कुनै सुविधा थिएन । तर, पनि अब्दुल र उनको परिवार यस विषयमा दृढ थिए । यसैले, उनीहरूले अब्दुललाई बिस्तारै हातले हिँड्न सिकाए र पिपिनको सहायतामा अब्दुल स्कुल जान थाले । अहिले उनी एक्लै सबै भिरालो बाटो पार गर्न सक्षम भइसकेका छन् । अब्दुलका अनुसार उनलाई वर्षायाममा मात्र बाटोहरू चिप्लो र जोखि मयुक्त हुने गरेकाले कठिनाइ हुने गरेको छ ।
त्यसैले, ती दिनहरूमा परिवारले उनलाई ट्याक्सी वा मोटरसाइकलमा राखेर लैजाने गरेका छन् । तर, एक किलोमिटरको सवारी शुल्क (इन्डोनेसियाको मुद्रा) आइडिआर ७ हजार लाग्ने हुँदा परिवारसँग अतिरिक्त पैसा भएका वेला मात्र उनले यस्तो सुविधा पाउने गरेका छन् । परिवारले नसकेको अवस्थामा उनी जोखिम मोलेर वर्षामा पनि हात टेकेरै स्कुल पुग्ने गरेका छन् ।विद्यालयका प्रधान अध्यापक एपी मुल्यादिले अब्दुलको पहिलो कक्षा सम्झदै आफूले पहिलो दिनमै उनीमा अधिक क्षमता देखेको बताए । पढाइप्रति उन को उत्साह र लगनशीलताले नै आफ्नो मन जितेको हुँदा अब्दुललाई विद्यालयमा भर्ना दिलाउने निर्णय लिएको उनको भनाइ छ ।
उनले भने, ‘उनी भर्ना हुँदा उनकी आमा अत्यन्तै चिन्तित भएकाबारे मलाई राम्रो थाहा थियो । त्यसैले मैले नै उनलाई अब्दुल शारीरिकबाहेक अरू सबै ढंगमा सक्षम भएकाबारे सुनिश्चित गराएँ ।उसलाई साथीहरूसँग घुलमिल हुनदेखि पढाइमा सबैसँग अगाडि बढ्न मा समेत कुनै समस्या नभएको हामीले देखेका छौँ ।’ त्यस्तै, शारीरिक समस्या भएपनि उनी अतिरिक्त क्रियाकलाप र खेलकुदमा सक्रिय रहने गरेको एपिले बताए ।यसैले, पनि अहिले तीन कक्षामा पढ्ने अब्दुललाई सबै शिक्षकहरूले अत्यन्तै एक्टिभ र मिहिनेती विद्यार्थीका रुपमा व्याख्या गरेका छन् ।
अब्दुल भने विद्यालयमा राम्रो अंकले उत्तीर्ण भई ठूलो सहरको युनिभर्सिटीमा पढाइ पूरा गर्न चाहन्छन् । उनले भने, ‘ मेरो लक्ष्य एउटा आगो नियन्त्रक बन्ने हो किनकि, म मानिसहरूको मद्दत गर्न चाहन्छु र मेरा बाबुआमालाई खुसी राख्न चाहान्छु । ’ यसबाहेक उनको चिकित्सक बन्ने सपना रहेको उनले बताए । डाक्टरले पनि दुःख र पीडामा भएकालाई मद्दत गर्ने भएकाले आफूलाई यसमा पनि अधिक रुचि रहेको उनले बताएका हुन् । यसरी शारीरिक कमजोरीका बाबजुद अब्दुल आफ्नो सपना पूरा गर्न निरन्तर संघर्ष गरिरहेका छन् र सबैका लागि प्रेरणा बनिरहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।