सुदूरपश्चिम र मध्यपश्चिमका नागरिकले आज गौरा पर्व मनाउँदै



सैघाली खबर
काठमाडौं,१३ भाद्र


सुदूरपश्चिम र मध्यपश्चिमका नागरिकले आज गौरा पर्व मनाउँदैछन् । भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्व उमामहेश्वरसहित दुबोको पूजा गरेर आज राजधानीसहित सुदूर र मध्यपश्चिममा मनाउन लागिएको हो । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामसाथ मनाउन थालिएको हो । आज सरकारले सार्वजनिक विदा पनि दिएको छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा पर्व सुरु भएको हो । गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीका आकार बनाउने गरिन्छ । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय विधान रहेको छ । विशेष गरी महिलाहरुले तीज पर्व मनाए जस्तै यो पर्वमा पनि महिलाहरुले पूजाआजा गरी मनाउने गर्दछन् । आजको दिनमा सुदूरपश्चिमबासी देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्छन् । काठमाडौँको टुँडीखेलमा आज प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा कार्यक्रम गरिंदैछ ।


गौरा पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना पनि दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वले हाम्रो लोक परम्परा कायम रहनुका साथै सामाजिक सांस्कृतिक एकता पनि कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले पनि शुभकामना दिंदै यो पर्वले सबैमा सुख, शान्ति र समृद्धि आओस् भन्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्