महाभारतका यी पात्रको नागरिकतामा बाबुको नाम के लेखिन्थ्यो होला ?



महाभारतका एक प्रमुख पात्र कुन्तीका जेठा छोरा कर्णले अहिले नेपालमा आएर नागरिकता मागे भने नेपालका सरकारी कर्मचारीले के भन्दा हुन् ?

अविवाहित कुन्तीबाट जन्मेका हुनाले ‘बाबुको पत्ता नलागेको’ भनेर नागरिकता दिँदा हुन् वा दुर्योधनले राजा बनाएका कर्णलाई ‘महाराजाधिराज’ भनेर ? संविधान अनुसार आमाको नामबाट पनि नागरिकता दिन मिल्छ भने तिनले आमाको नाम ‘कुन्ती’ लेख्दा हुन् ?

ब्यास ऋषीकी आमा सत्यवती थिइन् । ऋषी परासरसँग सम्बन्ध भएपछि जन्मिएका व्यासलाई उनका बाबुले आफ्नो छोरो हो भन्ने थाहा नपाउँदा सत्यवतीले कसको नामबाट ब्यासलाई नागरिकता दिलाउन सक्लिन् ?

आमालाई ‘बाबुविहीन’ वा ‘देह व्यापार गर्ने आमाबाट जन्मिएको’ भनेर नागरिकता दिँदा हुन्छ होला । वा, नेपालको सर्वोच्च अदालत गुहारेपछि र अदालतले ‘संविधान बमोजिम नागरिकता दिनू’ भनेर आदेश भएपछि पाउलान् कि बयास ऋषीले नागरिकता ?

द्रौपदीका पाँच छोराका बाबु क्रमशः युधिष्ठिर, भीमसेन, अर्जुन, नहकुल र सहदेव हुन् भन्ने जानकारी उनलाई मात्र थियो । प्रत्येक छोराको बाबुको नाम द्रौपदीले भन्न चाहिनन् र ‘मेरो नामबाट नै नागरिकता देऊ’ भनिन् भने प्रमुख जिल्ला अधिकारीले द्रौपदीलाई ‘खराब चालचलन भएकी यस आइमाईका सन्तानका बाबु पत्ता नलागेकोले नागरिकता नदिनू’ भन्दा हुन् वा आमाको नाम ‘द्रौपदी’ भनेर दिँदा हुन् ?

जुम्ल्याहा लव र कुशलाई वनमा जन्माएपछि आफै हुर्काएकी सीताले छोराहरुलाई स्कूल भर्ना गर्न चाहेकी भए तिनलाई बाबुको ठेगान पत्ता नलागेको भनेर जन्मदर्ता गरिन्नथ्यो वा पछि नागरिकता बनाउँदा ‘बाबुको नाम पत्ता नलागेको’ भनेर नागरिकता दिइन्थ्यो ?

सीतालाई त रामले शंका लागेर निकालिदिएका हुनाले बाबुको नाममा ‘राम’ नहुन सक्थ्यो । रामले पनि आफ्नो मर्यादामा विचार गरेका भए पक्कै पनि सीताको चरित्रमा शंका गरेर वन पठाउँदैनथे होलान् ।

त्यसैले बाबुको नाममा ‘राम’ राखेर त पक्कै पनि लव कुशले नागरिकता पाउँदैन थिए । सीताको ‘आत्महत्या’ पछि त आमा पनि नरहेकाले झनै नागरिकता पाउने कुनै भएन । विचरा लव र कुश !

पाँच पाण्डव आफै विभिन्न बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु परेको भए बाबुको ठाउँमा कसको नाम लेख्थे होलान् ?

मन्त्रको प्रभावले वशमा पारेर संसर्ग गरी जन्माएका प्रत्येक छोराको नागरिकता तिनै बाबुको नाम हुन्थ्यो कि पाण्डुको नाम हुन्थ्यो होला ? पाण्डुले बाबुको ठाउँमा मेरै नाम राख्नु पर्छ भनेर अड्डी लिन्थे कि ?

पाण्डु श्रापित भई सन्तान जन्माउन योग्य थिएनन् भन्ने सारा संसारलाई थाहा थियो । नेपालका प्रमुख जिल्ला अधिकारीहरुलाई यो वास्तविकता थाहा नहुने कुरै भएन । कसरी पाण्डु पुत्रलाई नागरिकता दिलाउँथे होलान् त तिनले ? अनि युधिष्ठिरको नागरिकतामा भिन्दै बाबु, भीम, अर्जुन सबै भिन्दै बाबुको नाम राखेर नागरिकता दिन्थे त ?

महाभारतका अर्का पात्र भीमले पनि दैत्य पुत्री हिडिम्बासँग विवाह गरेर घटोत्कच नामका छोरा जन्माए । तर पछि भीम हिडिम्बालाई वनमै छोडेर हिँडे । महाभारतको युद्धमा घटोत्कचले पनि भाग लिए । अहिलेजस्तो भए उनले कसरी नागरिकता पाउँदा होलान् ।

विडम्वना ! नेपालमा सरकारी कर्मचारीसँग नागरिकता लिन गएको भए त उनको वलशाली शरीरले तर्सेर कर्मचारीले एकै छिनमा उनकै नाममा नागरिकता बनाउँथे वा घटोत्कचको बावु खोजेर ल्याऊ भन्थे होलान् ?

धृतराष्ट्र र पाण्डुलाई नागरिकता दिनु पर्दो हो त के नेपाल सरकारका कर्मचारीले तिनलाई ‘बाबुको नागरिकता ल्याऊ’ वा ‘आफ्नो बावुलाई हाम्रो अघि उभ्याऊ’ भन्थे होलान् ?

धृतराष्ट्र र पाण्डु पनि ब्यास ऋषीको संसर्गबाट जन्मेका थिए । तर कसैले पनि उनीहरुलाई ब्यास पुत्र भनेर सम्बोधन गरेको पाइँदैन । उनीहरु राजा शन्तनुकै सन्तान मानिन्छन् ।

धृतराष्ट्र र पाण्डुलाई नागरिकता दिनु पर्दो हो त के नेपाल सरकारका कर्मचारीले तिनलाई ‘बाबुको नागरिकता ल्याऊ’ वा ‘आफ्नो बावुलाई हाम्रो अघि उभ्याऊ’ भन्थे होलान् ?

नेपालको कानुनले नेपाली महिलाको पाठेघरबाट निस्केका सबै जीवमा महिलाको अधिकार हुन सक्दैन भनेर सानो नदेखिने अक्षरमा लेखेको छ कि क्या हो ? कोही पनि सरकारी कर्मचारी यो अक्षर मेटाउनै चाहँदैनन् । त्यसैले संविधानले पनि ठूलो स्वरले ‘देशको अस्तित्व खतरामा पर्छ’ भनेर नागरिकता दिँदैनन् ।

युद्ध हुँदा, आन्दोलन हुँदा, महिला अधिकारको कुरा गरेर नागरिकता र सम्पत्तीमा महिलाको अधिकार दिलाउँछौ भन्ने सबै राजनीतिक दलले एकपटक आफ्नै घोषणा पत्र पल्टाएर हेरे हुन्छ महिला र बाल अधिकारका निम्ति गरेका बाचा ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्