निर्मलाको सुनसान घर, जहाँ पोष्टरले यसरी गिज्यायो



–सैघाली खबर–

बैशाखको दोस्रो साता । तराईंको उखरमाउलो गर्मी । फाट्टफुट्ट भेटिने रुखको छायाले मरुभूमिका पानी परेको आभास गराउथ्यो । करिब २ बजेको समयमा सैघाली खबर प्रतिनिधिसहित केही अधिकारकर्मीको टोली गएको साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा निकै सुनसान थियो ।

घरमा ताल्चा लगाइएको थियो । वरपरका छिमेकीसँग निर्मलाकी आमा दुर्गादेवी कहाँ हुनुहुन्छ भनेर सोध्दा कतै काम गर्न निस्किएको हुनसक्ने बताए । हामी बारे कोही कसैले केही चासो राखेनन् । लाग्थ्यो हामी जस्ता मान्छेहरु त्यो घरमा थुप्रै जान्छन् । नयाँ मान्छे जाने र घटना बारे अथवा उनको परिवार बारे सोधीखोजी गर्ने कुरा त्यहाँ कसैका लागि चासोको विषय छैन । अझ भनौं धेरै मान्छे थाकि नै सकेका छन् ।

तीन कोठे एक तले घरको अगाडिपट्टीको पिल्लरमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको निर्मलाको एउटा पोष्टर टाँसिएको थियो । त्यही पोष्टर देखेर साथमा रहेका अधिकारकर्मी भावुक बने । पोष्टरले सबैलाई गिज्ज्याइरहेको, प्रश्न गरिरहेको आभास हुन्थ्यो । पोष्टरमा रहेको निर्मलाको निर्दोष अनुहारले सन्नाटा छाएको त्यो वातावरणलाई झनै धूमिल बनायो । अधिकारकर्मी भूमी फुलाराले भनिन्, ‘निर्मलाको आत्मा कति तड्पिएको होला ? हामी यसरी बारम्बार आउँदा ‘खोई मेरा हत्यारा किन पत्ता लागेनन् भन्छिन् होला ? यस्तो कसैलाई नहोस् ।’

हेर्नुस् निर्मलाको घरका केही तस्वीरहरुः

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्