‘बलात्कारबाट जन्मेको’ छोरी



आदरणीय सांसद ज्युहरू,
मेरो बाबाले मलाई १२ वर्षको उमेरमा काठमाडौंमा काम गर्न पठाए । १४ वर्षको हुँदा मेरा ५० वर्षका घर मालिकले बलात्कार गरे । १६ वर्षकी हुँदा त्यही मालिकका २० वर्षका छोराले बलात्कार गरे, ३ चोटी ।

मेरो गर्भ रहेको थाहा पाएपछि मेरी मालिक्नीले मेरो घर कैलाली पठाईदिईन् । रु १० हजार मेरा बाबालाई दिईन् । यसको विवाह गरिदिनु भनेर ।

बाबाले पोलियो भएर सुस्त मनस्थितीको ३० वर्षको केटासँग मेरो विवाह गराईदिए । सुस्त मनस्थितीका ती युवकसँग मेरो शारीरिक सम्बन्ध चाहिँ भएन । ८ महिनामा मेरो छोरा चाहिँ जन्मियो । घरका कसैलाई पनि थाहा थिएन कि मेरो लोग्नेको छोरा होईन भनेर । तर पनि सबै खुसी भए ।
धन्य, मेरो लोग्नेको नागरिकता रहेछ । त्यसैबाट मेरो पनि नागरिकता बन्यो । १० वर्षपछि ज्वरो आएर मेरो लोग्नेको मृत्यु भयो । आज मेरो छोरा १६ वर्षको भएपछि म उसको नागरिकता लिन जाँदै छु । त्यसमा म खुलाएर लेख्ने छु, ‘काठमाडौंको मालिकको फलाना छोराले मलाई बलात्कार गरेर जन्मिएको छोरो भएकोले यसको बाबुको नागरिकता ल्याउन सक्दिन । त्यसैले मेरो नाममा नागरिकता देउ’ के मेरो छोराले नागरिकता पाउला ?

म अछामकी ३० वर्षीया महिला हुँ । १४ वर्षको उमेरमा म छाउगोठमा बस्दा एक रात तीन जनाले बलात्कार गरेको कुरा फैलिएपछि ३ जना युवक समातिए, पक्राउ परे । बलात्कार गरेको हो भनेर स्वीकारे । ‘मेरो गाउँघरमा चाहिँ केटी खराब रहेछ । त्यसैले बोलाएर त ३ केटा गए होलान । गाउँघरका सोझा केटा कसरी त्यो छाउपडी गोठमा पुग्छन् भने ।’ प्रहरीले केटाहरू समात्यो । अदालतले केटाहरू १२ वर्षको उमेर भन्दा कम भएकोले ५ महिनामात्र सजाय दियो । ६ महिनापछि त ती केटाहरू फुक्का गोरु जस्तै भए ।

तर म त छाउपडीमा बलात्कार भएको बेला गर्भवती भएछु । मलाई त छुई भएको बेला संसर्ग गरेपछि गर्भ रहदैन भनेर सिकाइएको थियो । तर छुई भएको ४ दिनमा बलात्कृत भएपछि मेरो अर्काे दुःख थपियो । दुई महिनासम्म महिनावारी भएन । कहिलेकसो यस्तै हुन्छ भनेर वास्ता गरिएन । ४ महिनापछि पो त गाउँकी एक सुडेनीले मेरी आमालाई ‘यी नानीको त गर्भ रहेको जस्तो लाग्छ भनेपछि’ मेरी आमा त छाँगाबाट खसे जस्तै भईन् । उनले मलाई कुभिन्डो, काँचो मेवा खाए गर्भ खस्छ भनिन् । तर अहँ त्यो गर्भ खसेन । गाउँबाट गर्भ तुहाउन कतै लग्ने पैसा थिएन । गाउँमा मेरो गर्भ रहेको भनेर परिवारको ठूलो बेइज्जत भयो । मलाई बलात्कार गर्नेहरूलाई चाहिँ कसैले अपमान गरेनन्, गाली गरेनन् ।

९ महिनापछि मेरी छोरी जन्मी । १५ वर्षीया मेरी छोरी दलित जातको भनेर घर समाजले पानी बन्द ग¥यो । म आज ३५ वर्षकी भएपछि २० वर्षको छोरीको नागरिकता बनाउन जिल्लामा गएँ । त्यहाँका कर्मचारीलाई मेरो छोरीको जन्म कसरी भएको याद रहेछ । उनले बाबु नभएको कारण लेखिदिए । ‘छाउपडीमा बस्दा ३ युवकले बलात्कार गर्दा भएको छोरीको बाबु को हो छुट्याउन सकिने अवस्था छैन । त्यसैले निजको नागरिकतामा बाबुको ठाउँमा ‘बलात्कारबाट जन्मेको’ छोरी भनेर लेखिदिनु । मेरो छोरीको नागरिकता त्यसरी नै बनेको छ । धन्य, त्यती भए पनि खाँडी मुलुकमा गएर काम गर्ने पासपोर्ट त पाई हाल्छे । पासपोर्टमा पनि बाबुको नामको ठाउँमा ‘बलात्कारबाट जन्मिएको छोरी भनेर लेखिदेलान् कि ?’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्