त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह



राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र सङ्घर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ ।

राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गत अप्रिल यता दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् भने सयौंको ज्यान गइसकेको छ । लिबियामा हाल राष्ट्रसङ्घ समर्थित लिबियाली सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तार निकट सैनिकबीच त्रिपोलीलाई नियन्त्रण गर्ने नाममा भिडन्त जारी छ ।

गत सातादेखि दुबै पक्षबीचको लडाइँ अझ व्यापक भएको राष्ट्रसङ्घको भनाई छ । हकका अनुसार करिब तीन हजार २०० शरणार्थी र आप्रवासीहरु बन्दी अवस्थामा रहन बाध्य छन् । उनीहरुलाई खाना, पानी र स्वास्थ्यसेवाको चरम अभाव छ ।

राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार करिब ६७ हजार मानिस आफ्ना घर छाडेर भागेका छन् भने करिब एक लाख मानिस जोखिममा परेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्