बलात्कार मुद्दामा वडा सदस्य जेल चलान



ओखलढुंगा । बलात्कार आरोपमा पक्राउ परेका ओखलढुंगाका एक वडा सदस्य जेल चलान भएका छन् । लिखु गाउँपालिका–३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएसँगै उनी जेल चलान भएका हुन् ।

अदालतको आदेशसँगै वडा सदस्य श्रेष्ठलाई कारागार पठाईएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले जानकारी दिए । वडा सदस्य श्रेष्ठ विरुद्ध परेको मुद्दाको विषयमा अनुसन्धान सकिएपछि पुर्पक्षका लागि जेल चलान गरिएको प्रहरी प्रमुख मल्लले बताए । अब अदालतले उनलाई के कति सजाय दिने भन्नेबारे फैसला गर्न बाँकी छ ।

वडा सदस्य श्रेष्ठ आफैले नर्मदेश्वरमा सञ्चालन गरेको ईटा कारखानामा काम गर्ने एक कामदार युवतीलाई कारखानामै गत चैत ७ गते बलात्कार गरेको भन्दै चैत ९ गते उजुरी परेको थियो । पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पुगेर उजुरी दिएकी थिइन् ।

बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ चैत ७ गतेदेखि नै आफूले प्रयोग गर्ने फोन बन्द गरेर सम्पर्कविहीन भएका थिए । त्यसको २ महिनापछि प्रहरीले सदरमुकाम आउँदै गर्दा हर्कपुरबाट उनलाई पक्राउ गरेको थियो ।

श्रेष्ठ स्थानीय निर्वाचनमा नेकपाबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्