बैरागी जेठाको जन्मदिनमा कविता



काठमाडौं । कवि बैरागी जेठाको ५१ औं जन्मदिनका दिन आज कविहरूले आफ्ना सिर्जना पस्किएका छन् ।

आरआर क्याम्पस, प्रदर्शनी मार्गमा भएको कार्यक्रममा कवि बैरागी जेठाले आफ्ना लामा सात कविता सुनाए । ‘फिनिक्सलाई चिठ्ठी’ वाचनबाट शुरु भएको कार्यक्रममा कवि बैरागी जेठाले ललिका सपनाहरू, प्यारी लुङ्ग्री, सोनाम वाङ्दी, रातो लालिमा शिर्षकका कविता पस्किएका थिए ।

कार्यक्रमको विचमा सहभागी स्रष्टाहरूले समेत आफ्नो सिर्जना पस्किए । द्वारिका कुइँकेलले आफ्नो कविता ‘जन्मदिन’ सुनाईन् । राजबाबु श्रेष्ठ सागरले ‘पात पातै हुन्छ,’ प्रतिरोध कार्कीले ‘काग,’ बिन्दु अधिकारी ढकालले ‘समय,’ साधुराम नेपालले ‘शब्दको आरधना,’ सुनील पुरीले ‘शहरमा बिरानो मान्छे,’ शिर्षकका कविता सुनाएका थिए ।

त्यसरी नै डा घनश्याम न्यौपाने परिश्रमी, मिसन अधिकारी, पुनम घिमिरेले आ–आफ्ना गजल पस्किए । सन्तोष सिम्खडा, गंगा खतिवडाले आफ्ना मुक्तकहरू पस्किएका थिए । नागार्जुन साहित्य प्रतिष्ठानका अध्यक्ष प्रकाश सिलवाल, प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका कवि चेतनाथ धमलाले कवि जेठाको व्यक्तित्वमाथि टिप्पणी गर्दै आफ्ना सिर्जना पस्किए ।

अन्त्यमा कवि बैरागी जेठाले नेपाली कम्युनिष्ट आन्दोलनकी एक योद्धा साहना प्रधानप्रति समर्पित कविता बद्रिफूल सुनाउँदै काव्यप्रवाहको बिट मारेका थिए ।

बद्रिफूल !

राणाकालको किल्ला भत्काएर
लोकतन्त्रको बिजुली बालेर
तिमी नाचेको हेरेको छु मैले
तिमीले मलाई तिम्रै आँगनमा
मशाल बोकेर नचाएकी थियौ ।

बद्रिफूल !
ऋषिरामको महाकाव्य बोकेर
भँगेरीलाई सुनाएको छु
शुद्ध क्रान्तिको लागि
तिम्रो प्यारो
आँसी र घन लिएर
उवा छिरेको छु
युद्धले लथालिङ्ग तिम्रो असन
बढारी रहेछु
हृदयमा तिमीलाई टाँसेर
दानवहरूसँग लडिरहेछु
रानीपोखरीबाट उम्रेको सूर्य लिएर
मानिसहरूको अनुहार हेरिरहेछु

बद्रिफूल,
काठमाडौंको मैलो बस्ती पखाल्न
मानिसहरू उठाइरहेछु
तिम्रो सपना साकार पार्न
लोकतन्त्रको सुर्कायनी खोलिरहेछु
पुष्पको सुगन्ध लिएर
तिम्रो गान गाइरहेछु
कागुन र नाफल खाँदै
मानिस परिवर्तन गर्न

क्रान्तिको शिखर चढेको छु !

बर्मा जित्न टिष्टा नाघिसकेँ
बद्रिफूल, दंत्यकथा भनिरहेको छैन
अनगिन्ती बाटाहरू काटिसकेँ
जबसम्म बर्मा गालेर नेपाल बन्दैन
तबसम्म म युद्धैमा हुन्छु ।

कवि सुनील पुरीको अध्यक्षतामा भएको कार्यक्रममा अन्त्यमा कार्यक्रमका प्रमूख अतिथि डा घनश्याम न्यौपाने परिश्रमीले प्रस्तुत रचनाहरूमाथि संक्षिप्त टिप्पणी गरेका थिए ।

शब्दको आरधनामा लागेका व्यक्तिहरूको जन्मदिन शब्दकै आरधना गरेर मनाउन सान्दर्भिक भएकोले साहित्यका एक कुल्ली बैरागी जेठाको जन्मदिन कवि गोष्ठी गरी मनाईएको कार्यक्रम संयोजक मिसन अधिकारीले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्