ओखलढुंगामा लैंगिक हिंसाका ३३ र घरेलु हिंसाका ४२ उजुरी



ओखलढुंगा । ओखलढुंगामा चालु आर्थिक वर्षमा ३३ वटा लंैगिक हिंसाका मुद्दा परेका छन् । जिल्ला प्रहरी कार्यालयमा एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट ३३ वटा लैंगिक हिंसाका मुद्दा परेका हुन् ।

लिखु गाउँपालिका र खिजिदेम्बा गाउँपलिकाबाट भने एउटा पनि मुद्दा नपरेको प्रहरी कार्यालयको तथ्याङ्कमा छ । सबै भन्दा बढि सिद्धिचरण नगरपालिकाबाट १६ वटा उजुरी परेको प्रहरी निरीक्षक राजिब श्रेष्ठले जानकारी दिए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार मानेभञ्ज्याङ्गबाट ४, सुनकोशीबाट ५, चिशंखुगढीबाट २, मोलुङ्गबाट ४ र चम्पादेवी गाउँपालिकाबाट २ वटा उजुरी परेका छन् । प्रहरीमा आएका ३३ वटा लैंगिक हिंसाका मुद्दा मध्ये २६ वटामा कारबाही भएको, चार वटामा कारबाही हुन बाँकी रहेको र तीनटा मुद्दालाई जिल्ला अदालतमा पठाईएको प्रहरीले जनाएको छ ।

यसका साथै चालु आर्थिक वर्षमा ४२ वटा घरेलु हिंसाका उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालयमा चालु आर्थिक वर्षको ११ महिनामा ४२ वटा घरेलु हिंसाका मुद्दा परेका हुन् । जिल्लाका आठ स्थानीय तह मध्ये सबै भन्दा बढि सिद्धिचरण नगरपालिकाबाट १८ वटा उजुरी परेको प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ ।

यसका साथै मानेभञ्ज्याङ्ग गाउँपालिकाबाट २, सुनकोशी गाउँपलिकाबाट ४, खिजिदेम्बाबाट ६, चिशंखुगढी बाट २, मोलुङ्ग बाट ७ र चम्पादेवी गाउँपालिकाबाट ३ वटा घरेलु हिंसाका उजुरी परे । चालु आर्थिक वर्षको अन्त्यसम्ममा लिखु गाउँपलिकाबाट भने एउटा पनि घरेलु हिंसाका मुद्दा नपरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

कुल ४२ वटा उजुरी मध्ये ३१ वटाको मिलापत्र भएको र ११ वटा मुद्दाको कारबाही बाँकी छ ।

जिल्लामा भएका अधिकांश घरेलु हिंसाका घटनाको मुख्य कारण मादक पदार्थ (मदिरा) रहेको प्रहरीको भनाइ छ । घरेलु हिंसाका अधिकांश पीडित महिला रहेको महिला तथा बालबालिका सेवा केन्द्रका प्रहरी हवल्दार डिकबहादुर निरौलाले बताए ।

सदरमुकाम भन्दा टाढाका गाउँपालिकाबाट भन्दा नजिकका नगरपालिका र गाउँपालिकाबाट लैंगिक हिंसा र घरेलु हिंसाका उजुरी बढि आएको प्रहरी कार्यालयको तथ्याङ्ले देखाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्