श्रीमानले गरे श्रीमतीको जीवन रक्षाका लागि अपिल



 

नवलपुर । आर्थिक अवस्थाका कारण मृगौला प्रत्यारोपण गर्न नसकेपछि गोमा सापकोटा पाण्डेका श्रीमानले श्रीमतीको जीवन रक्षाका लागि अपिल गरेका छन् ।

कावासोती नगरपालिका ८ की मृगौला रोग पीडित ३० वर्षीया गोमा सापकोटा पाण्डेको उपचारका लागि श्रीमानले सहयोगको अपिल गरेका हुन् ।

‘अहिलेसम्म २५ लाख रुपैयाँ खर्च भइसक्यो । हामीसँग भएको एउटा घडेरीसमेत बिक्री गरेर उपचार गरिसकें’ गोमाका श्रीमान गणेशले भने, ‘अब हामीसँग केही रहेन । श्रीमती बचाउन हर कोसिस गरिरहेको छु । भगवानले साथ दिए बाच्छिन् ।’ घरको आर्थिक अवस्था नाजुक हुँदा सहयोगको अपिल गर्नुपरेको उनको भनाइ छ ।

गोमाको दुवै मृगौला फेल भएकाले मृगौला प्रत्यारोपणका लागि करीब ६० लाख रुपैयाँँ लाग्ने अस्पताल श्रोतलाई उधृत गर्दै गणेशले बताए ।
उनका अनुसार ६ महिना अघि गोमाको भरतपुरमा जाँच गराउँदा दुवै मृगौला फेल भएको थाहा भयो । त्यसपछि परिवारले उनलाई काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार गराईरहेकोमा रकम अभाव भएपछि घरमा ल्याएको थियो ।

घरमा बस्दा गोमाको स्वास्थ्य अवस्था बिग्रदै जान थालेपछि पछिल्लो तीन महिनादेखि उनको काठमाडौंको महाराजगञ्जस्थित टिचिङ्ग अस्पतालको बेड नम्बर ८०२ मा उपचार भईरहेको छ ।

परिवारको मृगौला मेल नखाएकाले उनलाई मृगौला किनेर प्रत्यारोपण गर्नुपर्ने हुँदा भारतमा लगेर उपचार गराउनका लागि ६० लाख रुपैयाँ लाग्ने पाण्डेले बताए ।

१२ लाख हस्तान्तरण

यस्तै विभिन्न संघसंस्था र ब्यक्तिबाट संकलन गरिएको सहयोग रकम शनिवार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

‘गोमा पाण्डे बचाउ अभियान’ संचालन गरेर कावासोतीका स्थानीयले गोमाको उपचारका लागि ११ लाख ५० हजार रुपैयाँ संकलन गरेका थिए । देश विदेशबाट संकलन भएको उक्त सहयोग रकम बराबरको चेक गोमाका श्रीमान गणेश पाण्डेलाई अभियानका संयोजक कमल प्रसाद गैह्रेले हस्तान्तरण गरेका छन् ।

नवलपुर समाज जापानले संकलन गरेर पठाएको ४० हजार रुपैयाँ संचारकर्मी राशी रिजालले पाण्डेलाई हस्तान्तरण गरिन् ।

प्रगतीटोल सुधार समितिले समुदायमा संकलन गरेको १३ हजार दुई सय १५ रुपैयाँँ र नेपाल पशु स्वाथ्य सेवा समाजका केन्द्रीय उपाध्यक्ष दिलमाया श्रेष्ठले पाँच हजार पाँच रुपैयाँँ नगद सहयोग रकम गोमाका श्रीमान गणेश पाण्डेलाई हस्तान्तरण गरियो ।

शनिवार मात्रै सहयोगबाफत १२ लाख ३ हजार २ सय १५ रुपैयाँँ पाएको गोमाका श्रीमान गणेश पाण्डेले बताए ।

यदी कोही कसैले गोमाको उपचारमा सहयोग गर्न चाहेमा उनका श्रीमान गणेश पाण्डेको मोवाईल नम्बर ९८६७३८२२०० मा सम्पर्क गर्न सकिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्