प्रदेश १ सरकारले राहत प्याकेज ल्याउन श्रमिकको तथ्याङ्क संकलन



काठमाण्डौँ, चैत्र १५
प्रदेश १ सरकारले लकडाउनका कारण रोजीरोटीको समस्यामा परेका श्रमिकको तथ्याङ्क संकलन सुरु गरेको छ । प्रदेश १ का सबै जिल्लामा रहेका दिनमा श्रम गर्ने र दैनिकी चलाउने मजदुरको दुई दिनमा तथ्याङ्क संकलन गरेर राहत प्याकेज ल्याउने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएको छ ।

शनिबार मुख्यमन्त्री राईले न्यून आय भएका दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकका लागि आर्थिक प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला निकायसँग छलफलसमेत गरेका थिए । सोही छलफलबाट श्रमिकको तथ्याङ्क संकलन गरी सोही आधारमा राहत प्याकेज ल्याउने तयारी भएको मुख्यमन्त्री शेरधन राईले बताए ।

‘लकडाउनले मजदुर समस्यामा परेका छन्, उनीहरूलाई के सुविधा दिन सकिन्छ, यसमा तपाईंहरूको र प्रदेश सरकारको के पहल आवस्यक छ ?’ छलफलमा सहभागी उद्योगी र स्थानीय तहका जनप्रतिनिधिलाई मुख्यमन्त्रीले प्रश्न गरेका थिए । सबैभन्दा पहिले कस्ता नागरिक बढी समस्यामा परेका छन् ?, सो तथ्याङ्क संकलन गर्नुपर्ने सरोकारवालाको सुझावका आधारमा पहिलो चरणमा तथ्याङ्क संकलन गर्ने तयारी भएको मुख्यमन्त्रीका प्रेश सल्लाहकार ध्रुव सुवेदीले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रांगणमा बोलाइएको सर्वपक्षीय बैठकमा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको आपूर्ति सहज बनाउने विषयमा पनि छलफल भएको थियो । बजारमा देखिएको कालोबजारी नियान्त्रण र आपुर्ती असहजलाई सहज बनाउन मुख्यमन्त्री राईले सम्बन्धित कार्यालय र उद्योगीलाई निर्देशन दिए । उनले आपुर्तीलाई कुनै पनि हालतमा नरोक्न र समस्या परे प्रदेश सरकारलाई जानकारी दिन उद्योगी व्यवसायीलाई आग्रह गरे ।

मुख्यमन्त्री राईले कोभिड–१९ सँग जुध्न तयारी तथा प्रतिकार्यका लागि प्रदेश सरकारले गरिरहेका काममा एकजुट भएर सहयोग गर्न उपस्थित राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि र उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्