कर्फ्यू तोडेर अमेरिकामा प्रदर्शन, ट्रम्प प्रशासनद्वारा सेना परिचालन



काठमाडौं। अमेरिकामा कर्फ्यूका बीच पनि प्रदर्शन भइरहेको छ। कर्फ्यूको समय सुरु भइसक्दा पनि कतिपय ठाउँमा प्रदर्शनकारीहरू सडकबाट हट्न मानेका छैनन्।

एक साताअघि प्रहरी हिरासतमा मृत्यु भएका अश्वेत पुरुष जोर्ज फ्लोइडको मृत्युलाई लिएर सातौँ रात पनि प्रदर्शनहरू भइरहँदा वासिङ्टन र न्यूयोर्कसहित ४० भन्दा बढी राज्यहरूमा कर्फ्यू लगाइएको छ। प्रदर्शनकारीहरू कर्फ्यू तोडेर प्रदर्शनमा सहभागी भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ।

फ्लोइडको परिवारले शान्तिपूर्ण प्रदर्शनका लागि आह्वान गरेका छन्। फ्लोइडको गृहनगर ह्युसटनमा भएको र्‍यालीमा करिब ६० हजार मानिसहरू सहभागी भएको अनुमान गरिएको छ। फ्लोइडका परिवारका सदस्यहरू पनि उक्त स्मृतिसभामा सहभागी भएका छन्।

यसैबीच अमेरिकाका महान्यायाधिवक्ताले वासिङ्टनमा सुरक्षा व्यवस्थाका लागि मंगलवार राति थप सुरक्षाकर्मीहरूलाई खटाइने बताएका छन्। त्यहाँ सुरक्षाका लागि एक हजार ६ सय सेनालाई विभिन्न सैनिक आधार केन्द्रहरूमा विमानमार्फत ल्याइएको छ। रक्षा मन्त्रालयले सेना उच्च सर्तकतामा रहेको बताएका छन्।

ती सैनिकहरू क्यालिफोर्निया र न्यूयोर्कबाट ल्याइएका र राजधानी प्रदेशमा राखिएका छन। रक्षामन्त्री मार्क इस्परले सैनिक ल्याउन स्वीकृति दिएका हुन्। केही स्थानमा भने प्रहरी र सैनिकहरूले प्रदर्शनकारीसँग ऐक्यबद्धता जनाएर उनीहरूलाई शान्त राखेका थिए।

यसैबीच फ्लोइडको मृत्युलाई लिएर मिनेसोटा राज्यले मिनियापलिसका प्रहरीविरुद्ध मानवअधिकारसम्बन्धी उजुरी दर्ता गरेको छ। फ्लोइडको घटनालाई सन् २०१६ मा फ्रान्समा प्रहरी हिरासतमै ज्यान गुमाएका एक २४ वर्षीय युवाको घटनासँग जोडेर हेरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्