आज विभिन्न ६ उडानमार्फत ९५६ नेपाली स्वदेश फिर्ता



काठमाडौं / असार २४
आज बुधबार विभिन्न ६ उडानमार्फत खाडी र मलेसियाबाट ९५६ जना नेपाली स्वदेश आइपुगेका छन् ।

आज कतारबाट मात्रै तीन उडानमार्फत नेपालीहरु स्वदेश आएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १४८ जना, हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ र कतार एअरवेजबाट १७७ जना नेपाली स्वदेश फर्किएका हुन्।

कतारमा आममाफी पाएका र घर फिर्ती केन्द्रमा रहेका १६१ जना नेपालीलाई आज कतारले स्वदेश पठाइदिएको दोहामा रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरुलाई कतार एअरवेजको जहाजमार्फत पठाइएको हो ।

यस्तै आज मलेसियाबाट पनि दुई उडानमार्फत नेपालीहरु स्वदेश आइपुगेका छन् । मलेसियाको क्लालाम्पुरबाट हिमालय एअरलाइन्सले १५१ जना ल्याएको छ भने मलिण्डो एअरले १७६ जना नेपाली लिएर आएको छ । दुवै जहाजमा आउने नेपालीहरु आफैंले टिकट काटेका र रोजगारदाताले टिकट काटिदिएका हुन् ।

नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत आजै यूएईको आबुधाबीबाट १५० जना नेपाली पनि स्वदेश आएका छन् । आजै हिमालय र नेपाल एअरलाइन्स यूएई, कतार र मलेसिया गएका छन् । यी जहाजले भोलि बिहान त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउनेछन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्