आजदेखि चाटर्ड उडान बन्द नियमित उडान सुरु : अलपत्र श्रमिकलाई ल्याउन सहज होला?



काठमाडौँ /१५ असोज।
सरकारले आजदेखि नियमित उडान थप गरेको छ । विदेशबाट अलपत्र श्रमिकलाई ल्याउन उडान थप गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमान कम्पनीहरुले मागेजति नै उडान स्वीकृत गरिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए । प्राधिकरणले अक्टोबर १ देखि २४ तारिखसम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरेको छ । २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन् ।

नेपाल एयरलाइन्सले सातामा हङकङबाट दुई वटा, दोहाबाट सातवटा, क्वालालाम्पुरबाट छ वटा, दुबईबाट सात वटा, नारिताबाट दुई वटा र ग्वान्जाउबाट एउटा उडान गर्नेछ । हिमालयन एयरलाइन्सले दोहा र आबुधावीबाट हरेक साता ७–७ वटा उडान भर्ने छ ।

फ्लाई दुबई र हिमालयन एयरलाइन्सले यी तीनवटै ठाउँबाट हरेक दिन उडान गर्नेछन् । यसैगरी हिमालयनले क्वालालाम्पुरबाट साताको पाँच दिन पाँचवटा उडान भर्ने भएको छ । उसले चीनको चङकिङबाट साताको एउटा उडान गर्ने छ ।

फ्लाई दुबईले दुबईबाट साताको सातवटा उडान भर्नेछ । कुवेतबाट जजिरा एयरलाइन्सले साताको सातवटा उडान भर्नेछ । कोरियन एयरले सोलबाट साताको चार दिन चारवटा उडान, एयर अरेबियाले शारजहाँबाट साताको सात वटा उडान भर्नेछ । एयर चाइना हरेक शनिबार चीनको छेङ्दुबाट र चाइना साउदर्न शुक्रबार गोन्जाउबाट नेपाल आउने छ ।

मलेसियन एयरलाइन्सले क्वालालाम्पुरबाट साताको चार दिन, मालिन्दो एयरले क्वालालाम्पुरबाट साताको ६ दिन सातवटा उडान गर्ने छ । कतार एयरवेजले सातामा दोहाबाट सातवटा, सलाम एयरले मस्कटबाट पा“चवटा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट तीनवटा उडान गर्ने तालिका सार्वजनिक भएको छ ।

८७ हजार श्रमिक फर्किएपछि रोकियो चार्टर्ड उडान
नियमित उडानको संख्या थप गरेसँगै सरकारले चार्टड उडान बन्द गरेको छ। मेडिकल सामग्री बाहेकका लागि चार्टर्ड उडान अनुमति नदिइने सरकारको निर्देशन रहेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताए।

सरकारले विदेशबाट चाटर्ड उडानबाट श्रमिकको उद्धार गर्न सुरु गरेपछि करिब ८७ हजार श्रमिक स्वदेश फर्किएका छन्। ३२ देशबाट चार्टर्ड उडान मार्फत नेपाली फर्किएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्