दश वर्षमा विवाह, दश सन्तानकी आमा



दिपक बोहरा
दाङ,१८ पुस


तुलसीपुर–३ अम्बास निवासी लिला कुमारी बुढा १० वर्षकी भएकी थिइन् । साथीहरुसँग खेलिरहेकी थिइन् । उनी खेलिरहेकै समयमा केही मान्छेहरु उनको घरमा आए र उनको आमा र बुवासँग कुराकानी गरिरहेका थिए । मस्तसँग खेलिरहेकी उनलाई थाहा भएन्, ‘उनीहरुले मेरै विहेको बारेमा कुराकानी गरिरहेका रहेछन् ।’

तर केही समयपछि उनका बुवाले उनलाई बोलाए । उनी गइन्, उनलाई लाग्थ्यो आफूलाई कुनै काम अह्राउन बोलाइएको थियो । तर उनलाई कुनै काम अह्रराउन बोलाइएको रहेनछ, विहे गर्न भनी बोलाएका रहेछन् ।‘म खेलिरहेकी थिए, एक्कासी बुवाले बोलाउनुभयो, कामको लागि होला भन्ने सोँचेकी थिए’ उनले भनिन् ‘तर मलाई विहे गर्ने कुरा भयो भनेर भन्नुभयो ।’

दश वर्षको उमेर, त्यसमा पनि विहे भनेपछि उनलाई अनौठो त लाग्यो नै । कलिलो उमेर खुसी पनि भएकी थिइन् । उनको मनमा अलि–अलि डरले मुटु काँपिरहेको थियो । बुवाले भनेपछि उनले अस्वीकार गर्न सकिनन्, र हुन्छ भनिन् । ‘सानै थिए, अलि–अलि खुसी पनि लागेको थियो, अलि–अलि डर पनि लागेको थियो’ उनले भनिन् ‘तर बुवाको डरले पनि अस्वीकार गर्न सकिन्, र विहे गर्न सहमत भए ।’
केटाको उमेर पनि मिल्दो जुल्दो नै थियो । उनी दश वर्षका हुदा उनको श्रीमान् १२ वर्षका मात्रै थिए ।

 

केही महिनापछि उनको धुमधामसँग विहे भयो । उनलाई थाहा थिएन्, विहेपछि घरको काम गर्नुपर्छ, सासु ससुरा, श्रीमान्ले जे भन्यो त्यो मान्नु पर्छ भन्ने । त्यसपछि उनका दुःखका दिन त शुरु भए नै । सानै उमेरमा विहे भएपछि उनको प्रजनन् स्वास्थ्यमा समेत समस्या देखियो । ‘जब म विवाह बन्धनमा बाँधिए, सानै उमेरमा धेरै दुःख पाए’ उनले भनिन् ‘त्यतिकै स्वास्थ्य समस्या पनि देखियो ।’
उनले ११ वर्षमै पहिलो सन्तानको जन्म दिइन् । त्यस लगत्तै लगातार दश सन्तान जन्मिए । लगातार सन्तान जन्माउँदा शरीर निकै थिलो थियो भयो । जन्मिएका १० सन्तानमध्ये ६ सन्तान मात्रै उनको साथमा छन् ।

उनका चार सन्तानको सानै उमेरमा मृत्यु भयो । अपरिपक्क उमेरमा जन्म दिइएका बच्चाको स्वास्थ्य अवस्था पनि प्रतिकूल भएकाले चार सन्तानले अकालमै ज्यान गुमाउनु प¥यो ।‘म आफै बच्चाजस्तै थिए, उनले भनिन् ‘मबाट जन्मेका बच्चाहरुले पेटभित्र हँुदा राम्रो वातावरण पाउन सकेनन्, सानै उमेरमा मृत्यु भयो ।’ सन्तान त गुमाउनु प¥यो नै अर्कोतर्फ पाठेघर दीर्घरोगीको शिकार बन्नु परेको छ । अहिले उनलाई त्यही पाठेघरको समस्याले सताईरहेको छ । ‘जति बेला १४ वर्षको उमेरमा मेरो दोस्रो सन्तानको जन्म भएको थियो’ उनले भनिन् ‘त्यतिबेलाबाट मेरो पाठेघरको समस्या भयो, त्यहाँदेखि पाठेघरमा समस्या देखिएको उनले बताइन् ।’ त्यतिबेलाको समाज, बच्चा पनि घरमै जन्माउने चलन रहेको उनले बताईन् ।

‘बिरामी पर्दा पनि धामीझाँक्री गर्ने चलन थियो, अस्पताल लिने चलन थिएन्’ उनले भनिन् ‘जसले गर्दा पनि त्यसको पीडा अहिले उनले सहनु परेको छ ।’ त्यो सम्झिदा अहिले उनलाई सानै उमेरमा विवाह नगरको भए हुन्थ्यो जस्तो लाग्ने गरेको उनले बताइन् । ‘सानै उमेरमा विहे गर्दा यस्तो स्वास्थ्य समस्या हुन्छ भन्ने थाहा भएको भए विहे नै गर्ने थिइन्’ उनले भनिन् । बेलैमा उपचार पाएको भए पनि पाठेघरको दीर्घरोगी बन्नुपर्ने अवस्था नआउने उनले बताइन् । उनी जस्तै सानै उमेरमा विवाह गरेकी हजारौं आमालाई अहिले यस्तै समस्याले सताउने गरेको छ ।

अपरिपक्व उमेरमा बच्चा पाउँदा धेरै आमाको प्रजनन् स्वास्थ्य समस्या देखिने गरेको डाक्टरहरु बताउँछन् । अहिले पनि चेतनाको अभावले गर्दा धेरै आमाहरुमा प्रजनन् स्वास्थ्य समस्या देखिने गरको उनीहरुको भनाइ छ । खुलेर आफ्ना समस्या राख्न नसक्दा पनि प्रजनन स्वास्थ्यका समस्या देखिरहेको ओरेक नेपाल दाङकी संयोजक तुलसा गिरीले बताइन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्