ताप्लेजुङकै दोस्रो ठूलो बजार दोभान जलेर खरानी



काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । आगलागीबाट ४९ घर जलेर खरानी भएका छन् । दोभान ताप्लेजुङको दोस्रो ठूलो बजार हो । मेरिङदेन गाउँपालिका ३, खाम्लुङमा मंगलबार बिहान स्थानीय भोलानाथ पौडेलको घरबाट आगो उठेको थियो । विद्युत् चुहावट भई सुरु भएको आगोले अन्ततः बजारका ४९ वटा घर खरानीमा परिणत गरिदियो ।

विहान ९ः२५ बाट सुरु भएको आगलागी नियन्त्रण गर्न फुङ्लिङबाट गएको दमकल, प्रहरी, सशस्त्र प्रहरी, सेना र स्थानीय बासिन्दालाई हम्मेहम्मे परेको थियो । स्थानीय दीपेश कार्कीका अनुसार आगोले दोभान बजारलाई उजाड बनाइदिएको छ । उनले भने,“सम्पूर्ण रुपमा बजार खरानीमा परिणत भएको छ ।” आगलागीबाट दोभान मनी ट्रान्सफर र ग्लोबल आईएमई बैंकसहित दर्जनौं घर जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रणका लागि स्काभेटर लगाएर केही घर भत्काइएको थियो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका डीएसपी विपिन रेग्मीले आगलागी नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायले समन्वय गरी मिहिनेत गरेको बताए । उनले भने, “सुक्खा मौसम र नजिकै टाँसिएका घरमा सल्किएको आगो नियन्त्रण गर्न निकै कठिन भयो ।”

आगलागीको खबर पाउनसाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपीको नेतृत्वमा नेपाल प्रहरीको टोली परिचालन भएको थियो । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले ३३ घरधनीका ४९ वटा घर जलेर नष्ट भएको र यसबाट २२ जना डेरावालसमेत आगलागीबाट पीडित बनेको जानकारी दिइन् । आगलागीमा भएको क्षतिको यकिन नभएको तर पीडितलाई अस्थायी रुपमा राखिएको उनले जानकारी दिइन् ।

खानाको प्रबन्ध रेडक्रस, उद्योग वाणिज्य संघ र सामाजिक संस्थासमेतको सहभागितामा भएको बताइएको छ । केही वर्ष पहिले ताप्लेजुङ सदरमुकाम फुङलिङमा भिषण आगलागी हुँदा बजार सखाप भएको थियो । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले अग्निपीडितको उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री केपी ओलीले पनि आगालागीबाट पीडित बनेकालाई सरकारले राहत दिने बताएका छन् । कतिपय पाल टाँगेर बसेका छन् भने केही आफन्तको शरणमा पुगेको प्रदेश १ का सांसद बलबहादुर साम्सुहाङले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्