विपक्षी गठबन्धनको नयाँ सरकार बन्न नदिन महन्थलाई ओलीको फकाउने प्रयास



वैशाख २९, काठमाडौं । विश्वासको मत पाउन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनको नयाँ सरकार बन्न नदिन अनेकन तिकडम रचिरहेका छन् ।

सोमबार संसद्मा विश्वासको मत दिने बेलामा तटस्थ बसेको जनता समाजवादी पार्टीको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई फकाउने प्रयास ओलीले गरिरहेका छन् । ओलीले आफूले विश्वासको मत नपाएपछि महन्थसँग मंगलबार साँझ एक पटक भेट गरे भने कम्तिमा १० पटक टेलिफोनमा कुरा गरेको ठाकुरको सचिवालयले जनाएको छ । आज बिहानसमेत टेलिफोन वार्ता गरिसकेको सचिवालयका एक सदस्यले बताए ।

ठाकुरलाई आफूतिर ल्याएमा ओलीको बहुमत त पुग्दैन । तर, अर्को समूहले बहुमत पुर्याएर नयाँ सरकार बनाउन पनि सक्दैन । ओलीले ठाकुरलाई उपसभामुख, उपप्रधानमन्त्रीसहित रोजेका मन्त्रालय दिने प्रस्ताव गरेको तर, ठाकुरले भने आफूहरूमा माग सम्बोधन भइनसक्दै सरकारमा नजाने बताएको उनी निकट स्रोतले बतायो ।

उपसभामुख दिनलाई सांसदम बहुमत चाहिन्छ, त्यो ठाकुर गए पनि ओलीसँग पुग्दैन । तर, अल्पमतको सरकार बनाएमा ओलीले सरकारमा ठाकुरलाई ल्याउन र रोजेका मन्त्रालय दिन भने सक्छन् ।

जसपाको ठाकुर समूहसँग १५ सांसद छन् । ती सांसद नभए विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र जसपाको उपेन्द्र यादव समूहको बहुमत पुग्दैन । त्यसैले दुवै पक्षले ठाकुर समूहलाई फकाइरहेका छन् । ठाकुर समूह भने ओलीतिर लचक देखिन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्