भोकको डरले कामका लागि रोग भएतिरै फर्किए



धनगढी । कैलालीको गौरीफन्टा भन्सार नाकामा नेपाल भित्रिने र बाहिरिनेको संख्या उत्तिकै छ । कुनै दिन दुई–तीन सय जना नेपाली घर फर्किरहेका हुन्छन् भने कुनै दिन कामको खोजीमा त्यत्तिकै संख्यामा भारत पसिरहेकाहरूको लर्को हुन्छ ।
नाकामा सीमा वारपार गर्नेको रेकर्ड राख्दै आएको सशस्त्र प्रहरी पोस्टका अनुसार वैशाख १६ यता ८ हजार ४ सय ७५ जना यहाँबाट भारत पसेका छन् । भारतमा फैलिएको कोरोनाको दोस्रो लहरबाट प्रभावित भएर घर फर्कनेको संख्या भने यो अवधिमा २५ हजार ८ सय ६७ छ ।

गत वर्षझैं भारतका विभिन्न सहरबाट नेपालीले रोजगारी गुमाएर फर्कनुपरेको बताएका छन् । कतिपय भने घरमा बसेर ऋणमा डुब्न लागेको र के खाउँ के लाउँको स्थिति आएपछि निषेधाज्ञा छिचोल्दै भारततिरै फर्किरहेको बताउँछन् । वैशाख १६ देखि निषेधाज्ञाका कारण यातायात बन्द छ ।

नाकामा आइपुगेका नेपालीलाई लैजान स्थानीय तहको पासमा आउने गाडीमा गाउँबाट भारत पस्नेहरू आउने गरेको गौरीफन्टा नाकामा कार्यरत एक सशस्त्र प्रहरीले बताए । भन्सार पारि नेपालीहरूलाई नाकासम्म छोड्न आउने भारतीय बसमा उनीहरू जाने गरेको उनले बताए ।

उनका अनुसार भित्रिने र बाहिरिने कसैलाई पनि कोरोनाको डर देखिँदैन । भारतका विभिन्न सहरबाट आउने नेपालीहरूले मास्कसमेत प्रयोग गरेको देखिँदैन । भारतबाट नाकासम्म बसमा ठेलमठेल गर्दै आएका देखिन्छन् । कतिपयलाई यात्राकै क्रममा कोभिड संक्रमण भएको छ । मंगलबार कामका लागि भारतको महाराष्ट्र पस्दै गरेका कैलाली पहलमानपुरका पहल साउदले केही महिना घरको बसाइँपछि कमाउन जान लागेको बताए ।

कोरोना महामारी सुरु भएको यो अवधिमा उनले चौथो पटक भारत आउजाउ गर्न लागेको सुनाए । उनीसँगै अर्का दिलबहादुर साउदले कमाइका लागि भारत पस्नु बाध्यता भएको बताए । ‘गाउँमा काम पाइँदैन,’ उनले भने, ‘लकडाउन होस् वा महामारी घरमा बसेर जहान परिवार पाल्न सकिँदैन ।’

सामान्य बेला रोजगारस्थल आउन जान दुई हजार रुपैयाँ भए पुग्ने भए पनि अहिलेको परिस्थितिमा दलालमार्फत टिकट काट्नु परेकाले एकतर्फी भाडा पाँच हजार तिर्नुपरेको उनीहरू बताउँछन् । भारतको गुजरातमा १० वर्षदेखि काम गर्दै आएका कैलाली रामशिखर झालाका जोगबहादुर विक गत वर्षयता श्रीमती र दुई छोराछोरीसहित दोस्रो पटक घर फर्कंदै छन् ।

पहिलो लकडाउनका बेला र अहिले पनि उनी घर फर्कन थालेका हुन् । ‘पहिलो लकडाउनका तीन महिना र अहिले अनिश्चित समयमा लागि उद्योगका आधा कामदारलाई कम्पनीले घटायो,’ धागो उद्योगमा काम गर्दै आएका विक दम्पतीले भने, ‘दुवै समयमा आफूलगायत अधिकांश नेपालीलाई कामबाट हटाइए ।’ त्यस्तै महाराष्ट्रबाट सपरिवार घर फर्कन लागेका डोटी बोगटानका दीपबहादुर बोहराले पनि दोस्रो पटक घर फर्केको बताए । उनी पनि रोजगारी गुमेरै पहिलो र दोस्रो लकडाउनमा घर फर्केको बताए ।

घर फर्किरहेका अधिकांश नेपालीहरू माहामारीले लकडाउन भएर रोजगारी गुमेर आएको बताउँछन् । ‘भारतका विभिन्न सहरमा कामका लागि भौंतारिए,’ दुई महिना बसेर फर्किएका डडेल्धुरा आलितालका परशुराम थापाले भने, ‘अन्त्यमा फेरि घर आउनु पर्यो । भारतमा कोरोना कहर कम भएपछि पुनः कामका लागि भारतै जानु त छँदै छ ।’ उनका अनुसार कयौं नेपाली रोगभन्दा भोकको डरले महामारी बीचमै भारत पस्ने गरे पनि काम नपाएर अलपत्र परेका छन् ।

उनीहरूको उद्धार कसैले गरेको छैन । केहीको सडकमै बास भएको उनले बताए । त्यसरी अलपत्र परेका केही अन्त्यमा संक्रमित भएर फर्कने गरेका छन् । केही त उतै उपचार समेत नपाएर मृत्युको मुखमा पुगेका दर्दनाक घटनासमेत नेपालीले भोग्नु परिरहेको थापाले बताए ।

 

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्