सिम क्षेत्रबाट गैर कानुनी रूपमा अमेरिका छिर्ने झन्डै ५० हजारलाई अदालतको मिति नदिईकनै रिहा



मेक्सिकोको सिमाक्षेत्रबाट गैर कानुनी रूपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका झन्डै ५० हजारलाई अदालतमा उपस्थित हुने मिति प्रदान नगरीकनै रिहा गरिएको छ । उनीहरूलाई इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट आइसको कार्यालयमा उपस्थित हुन भनिएकोमा अहिलेसम्म झन्डै १३ प्रतिशत मात्र उपस्थित भएर रिपोर्ट गरेको जनाइएको छ ।

यसअगाडि आप्रवासीहरूलाई अदालतमा उपस्थित हुने मिति नदिईकनै रिहा गर्ने गरिएको थिएन । रिहा गरिएका झन्डै ५० हजारलाई अदालतमा उपस्थित हुने मितिको साटो देशभरका आइसका कार्यालयका ठेगाना र सम्पर्क नम्बर दिएर ती मध्ये एकमा उपस्थित भएर आफ्नो अवस्थाबारे जानकारी गराउन भनिएको थियो ।

अध्यागमन अदालत
उनीहरू मध्य मार्चदेखि मध्य जुलाईसम्म गैर कानुनी रूपमा सीमा पार गर्ने क्रममा पक्राउ परेकाहरू हुन् । सोमबारसम्मको तथ्याङ्क अनुसार ६ हजार ७ सय जनामात्रै आइसको कार्यालयमा उपस्थित भएको जनाइएको छ । ६० दिनभित्र उपस्थित हुन भनिएकोमा झन्डै १६ हजारले ६० दिनको अवधि समाप्त भइसक्दा पनि आइसको कार्यालयमा उपस्थिति जनाएका छैनन् ।

अरू २७ हजारको ६० दिने अवधि अझै समाप्त नभएको जनाइएको छ । गत सातामात्र रियो ग्रान्दे उपत्यकाबाट ७ हजार ३ सयलाई अदालतमा उपस्थित हुने मिति प्रदान नगरीकनै रिहा गरिएको टेक्सासका सांसद हेनरी क्युलेरले बताएका छन् । रियो ग्रान्दे उपत्यकामा एक साताको अवधिमा मात्र २० हजारभन्दा धेरै पक्राउ परेका थिए ।

अदालतमा उपस्थित हुने मिति विना नै रिहा गरिएका कैयन आफ्नो अध्यागमन प्रक्रिया सुरु गर्न र अदालतमा उपस्थित हुने मिति प्राप्त गर्न आफ्नो कार्यालयमा उपस्थित भएको आइसले जनाएको छ । तर आइसको कार्यालयमा उपस्थित भएर रिपोर्ट नगर्नेहरू आइसबाट देश निकालाको भागिदार बन्ने आइसले चेतावनी दिएको छ । खसाेखासबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्