इजरायलले निर्माणका लागि मजदुर लिँदै, विदेशी कामदारको भिसा अवधि पाँच वर्षको हुने



काठमाडौँ ।  इजरायलले नेपालीलाई निर्माण क्षेत्रमा पनि रोजगारी दिने भएको छ । नेपाल र इजरायल सरकारले नेपाली नागरिकलाई इजरायलमा निर्माण क्षेत्रमा काम गर्न पठाउने द्विपक्षीय सम्झौताको तयारी गर्न संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेसँगै इजरायलमा रोजगारीको नयाँ क्षेत्र खुलेको हो ।

परराष्ट्र मन्त्री डा. नारायण खड्का र नेपालका लागि इजरायलका राजदूत हानान गोडर गोल्डबर्गरबीच बुधवार दिउँसो परराष्ट्र मन्त्रालयमा भएको वार्तापछि उक्त निर्णय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

यसैबिच, केयर गिभर रोजगारीका लागि छनोट भएका ९९ जना नेपाली कामदार बुधवार राती इजरायलतर्फ उड्ने तयारीमा छन् । वैदेशिक  १ सय २५ जनालाई उडाउने तयारी भए पनि २६ जनामा कोरोनाभाइरस सङ्क्रमण भएपछि ९९ जना मात्र जाने टुङ्गो लागेको  विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बताए ।

उनीहरू इजरायल पुगे पछि १४ दिन क्वारेन्टिनमा बसेपछि काममा जान पाउने बताइएको छ । दोस्रो चरणमा माघ १५ र १८ गते १ सय ६२ जना इजरायल जाने तय भएको विभागले जनाएको छ ।  

इजरायलको केयर गिभरका लागि पहिलो चरणमा १ हजार १ सय ७५ जना छनौट गरिएकोमा हालसम्म ९ सय ९४ कामदारसँग सम्झौता भइसकेको समेत विभागले जनाएको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो । इजरायलमा विदेशी कामदारको भिसा अवधि पाँच वर्षको हुने भए पनि प्रत्येक वर्ष भिसा नवीकरण गर्नुपर्छ । साझासवालबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्