गोरखा मोडललाई ६६ रनले हराउँदै वडा नम्बर ७ को लगातार दोस्रो जित



 

  दाङ । लमहीमा जारी जिल्ला स्तरीय टी-२० मेयर कप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हासिल गरेको छ । मङ्गलवार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई ६६ रनले हराउँदै लमही नगरपालिका वडा नम्बर ७ लगातार दोस्रो चोटी विजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा १ सय ५२ रनको योगफल तयार गय्रो । वडा नम्बर ७ का लागि विजय भुसालले सर्वाधिक ४० रनको योगदान दिए । उनले २ छक्का र ४ चौका प्रहार गरे । वडा नम्बर ७ का लागि गतिलो टार्गेट निर्माणमा उनको उल्लेख्य भूमिका छ । ७ औँ नम्बरमा ब्याट समाउन पुगेका भुसाल मैदानमा प्रवेश गरे सँगै खेल नै बद्लियो ।

सुरुवाती प्रदर्शन खासै राम्रो नभए पनी भुसालको कन्ट्रीले खेल नै रोमाञ्चक बन्यो । त्यस्तै ओपनर ब्याट्सम्यान नवीन आचार्यले १ छक्का र २ चौकाको मद्दतले २६ रनको योगदान दिए । वडा नम्बर ७ को योगफल तयार गर्न सनम श्रेष्ठ र सुरेश दर्लामीले समान २/२ चौकाको मद्दतमा क्रमशः १४ र ९ रनको योगदान दिए । सन्देश केसीले १ चौका सहित १० रन बनाए भने सुरज धितालले ११ रन प्रहार गरे । गोरखा मोडलका लागि राज कुमार कुमाल र विष्णु सिंहले क्रमशः ४ र ३ विकेट हात पारे पनी वडा नम्बर ७ लाई सस्तैमा समेट्न भने सकेनन् ।

त्यस्तै कमल वली र दिनेश कँवरले समान १/१ विकेट लिए । १ सय ५३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको गोरखा मोडल क्रिकेट एकेडेमीले अनेक प्रयास थालीपने टिमलाई जित दिलाउन भने सकेन । पहिलो ओभरमै २ विकेट गुमाए पछी गोरखा मोडललाई भरपुर दबाब सँग सामना गर्न पय्रो । त्यस लगत्तै नराम्रो खेल प्रदर्शन गरिरहेको गोरखा मोडल अन्त्यमा १८.१ ओभरमा पूरा विकेट गमुाउदै ८६ रनमै समेटियो । गोरखाका लागि कमल वलीले १ छक्का र १ चौकाको मद्दतले सर्वाधिक १८ रनको योगदान दिए । सुमित आचार्यले २ चौका सहित १७ रन प्रहार गरे भने अनीश खानले १ छक्का र १ चौका त्यस्तै निम गुरुङले १ छक्काको मद्दतले क्रमशः ११/१२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क समेत जोड्न सकेनन् । गोरखा मोडललाई सस्तैमा समेट्न सन्देश केसीले ३ विकेट हात पारे । केलाश शाह र केशव अधिकारीले समान २/२ विकेट लिए भने सन्तोष सुनार र सुरेश दर्लामीले समान १/१ विकेट लिन सफल भए । प्रतियोगितामा वडा नम्बर ७ का विजय भुसाल सर्वाधिक रन बनाउँदै म्यान अफ दि म्याच घोषित भए । यो जित सँगै लमही वडा नम्बर ७ सेमिफाइनलको यात्रामा छ । रनरेटको आधारमा वडा नम्बर ७ अब्बल मानिएको छ ।

जसले गर्दा कुनै एक प्रतियोगितामा हार ब्यहोरे पनि लिग सिस्टम अनुसार वडा नम्बर ७ ले चान्स पाउनेछ । बुधवार वडा नम्बर ७ र दँगाली स्पोर्ट्स क्रिकेट एकेडेमी घोराही बिच प्रतिस्पर्धा हुनेछ । यदि यो खेलमा वडा नम्बर ७ विजयी भयो भने सोझै फाइनलको यात्रा गर्नेछ । तर दँगाली क्रिकेट विजयी भए पनि उसले अझै अर्को टिमसँग सामना गर्नुपर्नेछ । मङ्गलवार दोस्रो खेलमा त्रिसिद्वेश्वरी क्रिकेट एकेडेमी तुलसीपुर र घोराही क्रिकेट क्लब मैदानमा छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्