आमाले ज्याला मजदुरी गरेर पढाएको छोरा सन्दीप परियार कक्षा १२को परीक्षामा टप



पर्वतको जलजला गाउँपालिका–४,की सबिता परियारले घरायसी काम र ज्याला मजदुरी गरी हातमुख जोड्न र छोराछोरीको पढाइखर्च जुटाउने गरेकी छन्। चरम गरिबीका कारण छोराछोरी शिक्षादीक्षामा समस्या हुने चिन्ताले सधैँ सताइरहने परियारले गएको शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा छोरा सन्दीपले पर्वत जिल्लामै सर्वोत्कृष्ट नतिजा ल्याएपछि खुसीको आँसु थाम्न सकिनन्। निरन्तर दुःखसँग पौँठे जोरी खेल्दै अर्काको घरमा मजदुरी गरी छोरालाई उच्च शिक्षा दिलाएकी परियारले गाउँमा रहेको विद्या ज्योती माविमा अध्ययनरत छोराले ३.७१ जिपिए ल्याएर प्रथम भएको खबर सुनाएपछि निकै भावुक बनेकी उनको आँखाबाट खुसीको आँसु झर्न थाल्यो। अनेक अभावका बाबजुद पनि छोराको पढाइमा अभाव हुन नदिएकी सबिताका खुसीका आँसु झारेर नै रुन थालेपछि पर्वत जिल्लाको निजी तथा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याएका छोरा सन्दीपले आमाको सपना पूरा गर्ने बताउँदै सम्हाले। उनको जिन्दगीमा ‘श्रीमान् नामको पुरुष प्रवेश गरे पनि कलिलै उमेर देखि श्रीमानको झगडा, अतिरिक्त दुःख र मानसिक, शारीरिक यातनाले कहिल्यै सुख भन्ने महसुस गर्न पाइनन्। श्रीमानले मदिरा सेवन गरेर दैनिक यातना दिने, छोराछोरीको पढाइमा समेत अवरोध हुन थालेपछि अर्काको घरमा भाँडा माझेर, मजदुरी गर्ने भन्दै छोराछोरीसँगै घर छोडिन्।श्रीमानको दुई वर्ष अगाडी अत्यधिक मदिरा सेवनकै कारण मृत्यु भएपछि दुःखका बलिन्द्र धारा आँसु झारेर दैनिकी बिताइरहेकी उनलाई छोराछोरीको लालन पालन, शिक्षादीक्षाको भारी काँधमा झन् भारी भयो। जीवित हुँदा श्रीमानको कहिल्यै साथ नपाएकी सबिताले मृत्युपछिको दैनिकी झन् पहाडले थिचेजस्तै भयो।अहिले बिहानैदेखि रातीसम्म सबिताले छोराछोरीका लागि गर्ने मेहनत देखेर छिमेकी समेत दङ्ग पर्छन्।घरमा बस्दा उनले सिलाई कटाई र बाहिर जाँदा पलाष्टर देखि निर्माण सम्बन्धी काममा व्यस्त हुने सबितालाई कामले भने कहिल्यै पीडा महसुस भएनन्। गाउँकै विपन्न परिवारकी सबिताले पर्वत बेनी र म्याग्दीको सदरमुकाम बेनीमा निर्माण क्षेत्र, व्यक्तिको घरमा काम गरेर छोराको उच्च शिक्षा पूरा गरेको बताइन्।‘घरमा नियमित कमाई छैन,‘ज्याला मजदुरीबाटै छोराको उच्च शिक्षा पूरा गरे, अबको यात्रा थप चुनौतीपूर्ण छ‘ सबिताले भनिन्। नागरिकबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्