मुक्त कमैयालाई सीपअनुसारको रोजगारी’



भीमदत्तनगर, १७ साउन । किचाही मुक्तकमैया शिविरका ३० वर्षीया रमिता राना (बडायक) कञ्चनपुरको कृष्णपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभयो । उहाँ विगतमा कृष्णपुर नगरपालिका– ४ किचाही मुक्तकमैया शिविरमा श्रीमान् वीरबहादुर रानासँगै पसल सञ्चालन गरी गुजारा चलाउँदै आउनुभएको थियो । तर अब रमिताको परिचय फेरिएको छ ।

रमिता कृष्णपुर नगरपालिकाको उपप्रमुख बन्नुभएको छ । उहाँ राना थारु समुदायबाट उपप्रमुख पदमा पुग्ने मुलुककै पहिलो महिला हुनुभएको छ । उपप्रमुख रानाले नगरपालिकाको विकाससँगै आफ्नो समुदाय र मुक्तकमैया, बाढीपीडितलगायत निम्नआयस्तर भएका समुदायका लागि रोजगारको पहल थाल्ने बताउनुभएको छ ।

मुक्तकमैया बस्तीको पीडा र अभावका विषयमा स्वयम् जानकार रहेकाले उहाँले मुक्तकमैयालाई सीपमूलक तालिम दिई रोजगारका लागि पहल थाल्ने बताउनुभयो । मुक्तकमैया शिविरमा सडक निर्माण र सुधार कार्य थाल्ने राना बताउनुहुन्छ ।

सात वर्षअघि वीरबहादुरसँग विवाह गरेर मुक्तकमैया शिविर पुग्नुभएकी उपप्रमुख रानाले राना थारु समुदायको हकहित संरक्षण तथा सामाजिक, शैक्षिकलगायत सुधारका लागि विशेष पहल गर्ने योजना बनाउनुभएको छ । आर्थिक अभाव र बेरोजगारीका कारण राना र चौधरी समुदायका विद्यार्थी बीचमै पढाइ छाड्छन् । उहाँले कृष्णपुरमा थारु संग्रहालय बनाउन पहल थाल्ने बताउनुभयो ।

आदिवासी जनजाति संघ÷संस्था हँुदै नेकपा (एमाले)को राजनीतिमा प्रवेश गर्नुभएका रानाले प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नुभएको छ । “मुक्तकमैयालाई सरकारले उपलब्ध गराएको पाँच कट्ठा जग्गाले खान पुग्दैन,” उहाँले भन्नुभयो । थारु संस्कृती जगेर्ना गर्न भकुण्डामा थारु संग्रहालय निर्माण भइरहेको बताउँदै रानाले थारु संस्कृति लोप हँुदै गइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

स्थानीय तहको निर्वाचनमा सात हजार १८ मतसहित उपप्रमुखमा विजयी रानाका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार भुवनेश्वरी जोशीले पाँच हजार ९२८ मत पाउनुभएको थियो । रासस

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्