बसमा पाकेट मार्दा मार्दै दुई युवती पक्राउ



चितवन । बसमा यात्रारत यात्रुहरुलाई पाकेट मार्दै गरेको अवस्थामा दुई महिला पक्राउ परेका छन्। बीरगञ्जबाट काठमाडौ तर्फ जाँदै गरेको बसमा यात्रारत महिलाको पाकेट मार्दा मार्दै इलाका प्रहरी कार्यालय टाँडीको गस्ती टोलीले २ जना महिलालाई पक्राउ गरेको हो।

भारतको कलकत्ता स्थित पुनापुर घर भई हाल बीरगञ्ज महानगरपालिका वडा नं. ११ लक्षुमनुवा चोक बस्ने बर्ष १९ की पुजा देव र वर्ष १७ की प्रिती देव पक्राउ परेका हुन्।

बसमा यात्रारत कालिका नगरपालिका वडा नं. १० सिद्धिकी अस्मिता चेपाङको नगद २५ हजार ७० रुपैया र मोबाइल सेट चोर्ने क्रममा सादा पोशाकमा रहेका प्रहरीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

उनीहरुलाई अहिले चोरी मुद्दा अन्तर्गत कारवाही अगाडि बढाइएको उनले जानकारी दिए। उनीहरु अहिले इलाका प्रहरी कार्यालय टाँडीको हिरासतमा रहेका छन्। पाकेट मार्ने क्रममा बीरगञ्जबाट बसमा चढी आएका पुजा देव र प्रिती देवलाई रत्ननगर १ शान्तिचोकमा पक्राउ गरिएको थियो।

अहिले पनि बसमा यात्रारत यात्रुहरु लुटिने र चोरी हुने आशंकामा सादा पोशाकका प्रहरीहरु खटाइएको समेत प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञवालीले जानकारी दिए।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्