नेत्र चिकित्सक डा. रूइतको जीवनी लोकार्पण



काठमाडौं । प्रसिद्ध आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी ‘सन्दुक रूइत’ लोकार्पण गरिएको छ । आज काठमाडौंमा आयोजित एक विशेष समारोहमा २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डा. रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले पुस्तक लोकार्पण गरेका हुन् ।

अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।

पुस्तक लोकार्पण गर्दै पूर्व दृष्टिविहीन शिक्षक शर्माले आफूले २१ वर्षको उमेरसम्म पूर्ण रुपमा दृष्टिविहीन बाँच्नु परेको पीडाबारे बोलेका थिए । आफूलाई दृष्टि दिएर संसारको सुन्दरता देखाउने डा. रुइतप्रति आभार प्रकट गर्दै उनले महान डाक्टरको जीवनी आफ्नो हातबाट लोकार्पण गर्न पाउनु आफ्नो अहोभाग्य हो भने ।

पुस्तक अनुवादक संग्रौलाले आफूले अनुवाद गरेका अन्य पुस्तकको तुलनामा यो अति उत्कृष्ट पुस्तक रहेको औंल्याए ।

डा. रुइत आफूलाई मन परेको लक्ष्य प्राप्त गर्ने काममा विवाद झेल्न, जोखिम उठाउन र मर्न पनि तयार रहेको एउटा कर्मठ व्यक्ति रहेको संग्रौलालो बताए ।

कार्यक्रममा डा. रुइतले पुस्तक आफ्नो जीवनको मात्र नभई परिवार, आफ्नो जीवनमा भएका उतारचढाव, सफलता, आरोहअवरोह एवम् तिलगंगा आँखा अस्पतालको संघर्षको कथा भएको बताए । अङ्ग्रेजीमा लेखिएको आफ्नो जीवनीको नेपाली अनुवाद आएकोमा आफू एकदम हर्षित भएको उनले बताए ।

उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अंग्रेजीमा प्रकाशन गरेको हो । उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्