कविता: स्वर्ग जाने तयारी




अहिले म स्वर्ग गएर
भएभरका देवीदेवता एकैपटक भेट्न
‘इमर्जेन्सी डेथ भेरिफाइड!’ फर्म भर्दै छु

बाटो लामो छ अरे
तर पुगिसकेपछि
निकै आनन्द छ अरे
दु:ख भनेको छँदै छैन अरे
रात दिन भन्ने नै हुँदैन अरे
यी सबै अरेहरूलाई पोको पारेर
स्वर्ग जाने तयारीमा छु

पट्यार लाग्दो लाममा उभिएर
साँघुरो भर्‍याङ उक्लदै गर्दा मसँग छन्-
स्वर्ग पुगेर इन्द्रसँग सेल्फी खिच्ने चाहना
स्वर्गको बगैचामा घुम्ने रहर

स्वर्ग जानका लागि
पालन गर्नुपर्ने केहि नियमहरू
जस्तो कि-
जान भन्दा पहिले नै आफ्नो तस्बिर पठाउनु पर्ने
कत्तिको लायक छु परिचय पठाउनु पर्ने
बिवाहित अबिवाहित प्रष्ट भन्नुपर्ने
सन्तान के कति छन् पहिल्लै खुलाउनु पर्ने
मन्जुरीका साथ पालना गरेको छु

स्वर्ग जाने उमेद्वारको रुपमा दर्ता पछि
म कुनै टोकरीमा राखिएको चिट्ठा भएको छु
मेरो परिचय अंक बनेको छ
म कागजमा बेरिएर आफ्नै खल्तीमा पट्टिएको छु

फर्म भरेर भर्‍याङ ओर्लदै गर्दा
मलाई बिझाउन थालेको छ- आफ्नै देश
मलाई मन पर्न छोडेको छ- मेरो देशका मान्छे
जताततै अस्तब्यस्त र ठेलमठेल लाग्न थालेको छ
भएको छ कि- म स्वर्ग पुगिसकें

थकाई लागेको बेला
मन नलागेको बेला
दु:ख परेको बेला
चित्त दुखेको बेला
सिरानी मुनी पट्टाइराखेको कागज फुकाई हेर्छु
र चिठ्ठा खुल्ने मिति गन्न थाल्छु

म एक अमरहरूको देशको नागरिक
यो सबै भुलेर
स्वर्ग जान लालायित छु

म स्वर्ग जाने तयारीमा छु !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्