आजदेखि पासपोर्टमा टाँस्ने स्टीकरको सट्टा इ–स्टीकर



काठमाडौं वैदेशिक रोजगार विभागले मंगलबार देखि पासपोर्टमा टाँस्ने स्टीकरको सट्टा इ–स्टीकर दिने बताएको छ । यसका लागि विभागमा सोमबार इ–स्टीकर सम्बन्धि परीक्षण गरिएको थियो । विभागका महानिर्देशक डा। भिष्मकुमार भूसालका अनुसार मंगलबार देखि व्यक्तिगततर्फ र रिगलाईजेशनमा इ–स्टीकर लागू गरिँदै छ ।

महानिर्देशक भूसालले यसबाट दलालहरुले नक्कली स्टीकर बनाई भारतको बाटो सोझासाझा कामदारलाई विदेश पु¥याउने, पासपोर्ट फोहोर हुने देखि १० बर्षअघि साधारण कामदार भिसामा विदेश गएर हाल म्यानेजर भएकाहरुले पनि पुरानाको स्टीकर देखाएर हिड्न पर्ने बाध्यताको अन्त्य हुने दाबी गरेका छन् ।

त्यसैगरी स्टीकर छपाईमा खर्च हुने लाखौं रुपैयाँ बचत हुने भन्दै महानिर्देशक डा भूसालले आफ्नो इमेलबाट चाहिएको बेला स्टीकर प्रिन्ट गरेर निकाल्न सकिने र श्रम स्वीकृतिका लागि एकपटक पासपोर्ट देखाएपछि आफ्नै मोबाइलमा श्रम स्वीकृतिको जानकारी र इमेलमा श्रम स्वीकृतिको स्टीकर आउने जानकारी दिए । त्यसका लागि केही दिनमात्र पर्खिनुपर्ने महानिर्देशक भूसालको भनाइ छ । उनले भने, ‘वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिंदा पासपोर्टमा स्टीकर टाँस्ने प्रक्रिया अब यो हप्तामात्रै होला ।’

महानिर्देशक डा भूसालले यसलाई श्रम स्वीकृतिको प्रक्रियामा कोशेढुंगा हुने अपेक्षा गरेका छन् । अगामी शुक्रबारसम्म व्यक्तिगत र रिगलाइजेशन बाहेक अन्यका लागि पनि इ–स्टीकर लागू गरिने विभागको योजना छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्