भिआईपीको नाममा लुटिएको मेरो देश



विश्व भूगोलमा हेर्ने हो भने अत्यन्तै सानो देखिने नेपाल आतिथ्य संस्कारमा भने धेरै महत्व दिने मुलुकमा पर्दछ । छिमेकी लगायत अन्य देशबाट आएका पाहुनालाई यसरी सम्मान गर्दछ कि जहाँ आफ्नै देशको नागरिकको नै कुनै प्रवाह गर्दैन । विशेष गरी देशको राजधानी काठमाडौंलाई त्यसको प्रत्यक्ष प्रभाव पारीरहेको हुन्छ । देशभरका कुना काप्चाबाट आएका नेपाली अटेको राजधानी काठमाडौं सधै व्यस्त रहने सडकको मारमा पर्ने गरेका नेपालीलाई जब देशमा अन्य मुलुककका भिआईपीको आगमन हुने खबर आउँछ तब चिन्ता हुन्छ सडक जामको ।

देशको वास्तविकता यो हो कि विदेशबाट अति विशिष्ट पाहुना आउँदा उनिहरु पुग्ने ठाउँलाई बेहुली जस्तै सिंगारिन्छ । जब फर्कन्छन अनि उही फुक्का धुलो । मानौं कि मेरो देश नेपालमा ठूलो मुलुकका प्रमुख आउँदा त यहाँ स्वर्गलोकबाट भगवान ईन्द्र नै आए जस्तो हुन्छ ।

वर्तमान परिवेशलाई हेर्ने हो भने देशलाई एउटा नाटकीय स्वरुपमा ढालीँदै छ । ‘अतिथि देवो भव’ यो नेपालीको महान संस्कार हो तर त्यही संस्कारमा पनि विकृतिले प्रवेश पाईरहेको छ । नेपाल एउटा यस्तो देश हो जहाँ एउटा खुल्ला पृथ्वीको स्वरुप देख्न पाईन्छ । हो मेरो देश नेपाल चार जात छत्तिस वर्णले भरिपूर्ण छ । हिमाल,पहाड अनि तराईका समथर फाँटहरु मिलेर बनेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा यही नेपाल र नेपालीको शान हो । रङ्गी विरङगी फूलले सजीएको छ । यही सौन्र्दयतालाई प्रत्यक्ष देखाएर पनि हामीले अतिथि संस्कारको धर्म निभाउन सक्छौं ।

अतिथि संस्कार कै नाममा आज देशमा ब्रम्हलुट चल्दै छ । भिआईपीका नाममा राता रात करोडौ खर्च हुँदैछ । महङगा–महङगा तारे होटलहरुमा करोडौको खर्च गर्न सक्ने मेरो देश कहाँ गरीब रह्यो र अब । भिआईपी सवारकै नाममा हजारौं प्रहरी र सुरक्षकर्मी परिचालन गरिन्छ । त्यो पनि ५–५ मिटरमा ४–५ जनाको जमातसहित तर यही देशको विकट ठाउँमा खोई जनताले शान्ति सुरक्षाको अनुभुति गर्न पाएका ? भिआईपीलाई कुनै असर पर्ने काम गर्न मात्र खोजियो भने देशका सर्वसाधारण जनतालाई बल प्रयोग गर्न समेत पछि हट्दैनन् देशका पुलिस प्रशासन अनि सम्पूर्ण राज्य व्यवस्था नै ।

एक दिनको लागि नाटकीय रुपमा गरीएको कार्यलाई थोरै भएपनि दिर्घकालीन हुनेगरी गर्ने हो भने देश र जनतालाई फाईदाजनक नै हुने छ । देशमा हुने गरेको राजनैतिक चलखेल पनि देश विकासको बाधक हो । राजनैतिक दलकै आडमा देशमा आर्थिक अनियमितता देखि जनतालाई सास्ती दिने कामसमेत हुने गरेको छ ।

भिआईपी सवारको नाममा राजधानी काठमाण्डौमा घण्टौं सम्म सवारी जाम गरिन्छ । जनतालाई दुःख र सास्ती भन्दा अरुको विकल्प नै रहदैन । आफ्नो एक छाक टार्न पनि धौधौ पर्ने जनता बस्ने सहरमा सहज तरीकाले काम गरेर खाने वातावरण समेत रहदैन । दिनहुँ जनता सडक जामको मारमा परीरहेका छन् । सरकार भने बेखबर भई बसिरहेको छ । देश र जनताको आवश्यकतालाई नबुझी भिआईपीका पछाडि लाग्दै छ सरकार ।

विश्वका स्वतन्त्र मुलुकमध्ये नेपाल पनि पर्दछ । तर बिडम्बनाको कुरा यो छ भने दुई शक्तिशाली राष्ट्र चिन र भारतको बीचमा ‘दुई ढुङ्गा बीचको तरुल’ को रुपमा रहेको छ । आज भारतले नेपाली भूमि मिचिरहँदा समेत देशमा को भिआईपी कैले आउने र कसरी संस्कार गर्ने भन्ने कुरामा नै तत्लीन रहेको छ । राष्ट्रियताको विषयमा सबै राजनैतिक दल एक भएर त्यको समाधान गर्ने तर्फ लाग्नुपर्ने समयमा त्यसतर्फ सरकार प्रतिवद्ध भएको पाउन सकिदैन । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिम्पीयाधुरा र लिपुलेख लगाएतको जमिनलाई समावेश गरेको विरोध स्वरुप देशभरका विद्यार्थी तथा युवाहरुले आन्दोलन नाराबाजी गरिरहेका छन् । तर, सरकार भने मौन रहेको छ । त्यस तर्फ सरकारको ध्यान जान जरुरीरहेको छ र आफ्नो भूमिको संरक्षण गर्न आवश्यक रहेको छ । साथै अब भिआईपी, भिभिआईपीलाई भन्दा पनि देश र जनताको आवश्यकतालाई बुझेर काम गर्न जरुरी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्