मलेसिया: कामदारका लागि पेश भएका ३१ हजार मागपत्र प्रमाणीकरण



काठमाडौं , मंपसिर १८ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित नेपाली दूतावासले दुई महिनाको अवधिमा नेपाली कामदारका लागि पेश भएका ३१ हजार मागपत्र प्रमाणीकरण गरेको बताएको छ ।

नेपालका केही वैदेशिक रोजगार व्यवसायीले मलेसियास्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरणमा पक्षपात र ढिलासुस्ती गरेको गुनासो गरिरहेको बेला मंगलबार विज्ञप्ति जारी गर्दै मलेसियास्थित नेपाली दूतावासले उक्त जानकारी दिएको हो ।

दूतावासका अनुसार प्रमाणीकरण गरिएका मागपत्रमा मलेसियाको औद्योगिक क्षेत्रबाट आएका मागपत्र सबैभन्दा धेरै रहेका छन् । दूतावासले अक्टुबर महिनाको पहिलो हप्तादेखि नयाँ श्रम समझदारी अनुसार मात्रपत्र प्रमाणीकरण गर्न शुरु गरेको भन्दै त्यसयता ९ सय ६३ वटा फाईलमा कारबाही सम्पन्न गरेको बताएको छ ।

दूतावासद्वारा जारी विज्ञप्तिमा ती ९ सय ६३ फाईलमा औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय, सुरक्षागार्ड सहित सेवा क्षेत्रको १० हजार १ सय ८३, कृषि क्षेत्रको १ हजार ४ सय ७५, प्लाण्टेसन क्षेत्रको १ हजार ३ सय ९७ र निर्माण क्षेत्रको १ हजार ३० जना कामदारको मागपत्र प्रमाणीकरण भएको उल्लेख छ ।

मागपत्र प्रमाणीकरणको कामलाई सरल, पारदर्शी र चुस्त बनाउने उद्धेश्यले प्रत्येक प्रक्रियामा छुट्टाछुट्टै शाखा तथा छुट्टाछुट्टै कर्मचारीहरु संलग्न हुने व्यवस्था गरेको जनाउँदै दूतावासले रोजगारदाता कम्पनीको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन निर्देशक वा मानव संशाधन अधिकृत स्वयं उपस्थित भई बिहान १० देखि मध्यान्ह १२ बजेसम्म दूतावासमा प्रमाणीकरणका लागि मागपत्र पेश गर्ने, पेश भएका मागपत्रहरुको विवरण रुजु, अध्यावधिक र प्रमाणीकरणको पत्र तयार गर्ने गरिएको स्पष्ट गरेको छ ।

यसैगरी मागपत्र पेश गर्ने कम्पनी सम्बन्धी दूतावासमा आएका गुनासा लगायतका कैफियतहरुको रुजु गरी प्रमाणीकरणको लागि सिफारिस गर्ने, प्रमाणीकरणको लागि सिफारिस भएका मागपत्रहरुको प्रमाणीकरण गर्ने र स्क्यान गरी वैदेशिक रोजगार विभागमा ईलेक्ट्रोनिक फाईल पठाउने, प्रमाणीकरण भएका सक्कल फाईलहरु अपरान्ह २ बजेदेखि ५ बजेसम्म वितरण गर्ने र सक्कल फाईल बुझ्नका लागि कम्पनीको कर्मचारी उपस्थित हुनुपर्ने व्यवस्था गरिएको दूतावासको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले केही व्यवसायीका मागपत्रको फाईल पेश भएकै दिन र केही व्यवसायीको माग पत्र भने पेश गरेको तीन हप्तापछि प्रमाणीकरण हुने गरेको गुनासो मध्यान्ह राष्ट्रिय दैनिक मार्फत मंगलबार सार्वजनिक गरेको थियो । दूतावासले अत्यावश्यक मागपत्रलाई एकदिनमै र अन्यलाई ५ दिनभित्रमा प्रमाणीकरणको कार्य सक्ने गरी कार्य भइरहेको स्पष्टीकरण दिएको छ ।

वैदेशिक रोजगार सम्वन्धी मागपत्र जाँचबुझ निर्दे्शिका २०७५ले दूतावासमा प्रमाणीकरणका लागि मात्रपत्र पेश भएको दश कार्य दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । दूतावासले नेपालका वैदेशिक रोजगार व्यवसायी र रोजगारीमा जाने कामदारहरुको हितलाई ध्यानमा राखी मलेसियाको गृह मन्त्रालयले जारी गरेको विदेशी श्रमिक नियुक्त गर्ने कोटा (केडिएन) १५ दिनको वैधानिकता भएका मात्रपत्रहरु स्वीकार गर्ने र एक महिना भन्दा कम अवधि भएको केडिएन भएको मागपत्र प्रमाणीकरणका सम्वभ भएसम्म पेश भएकै दिन प्रमाणीकरण गर्ने गरिएको बताएको छ ।

दूतावासले गतवर्ष नै नेपाली दूतावासबाट प्रमाणीकरण भएका तर कामदार नगएका मागपत्रको पनि एकै दिनमा प्रमाणीकरण गरिदिने गरेको बताएको छ ।

कामदारको तलव, वासस्थान लागायतका विषय बुझ्नुपर्ने भएमा त्यस्तो मागपत्र पेश भएको पाँच दिनभित्र प्रमाणीकरण गर्ने अवस्थामा दूतावास रहेको उल्लेख गर्दै विज्ञप्तिमा मंगलबारसम्म गत २७ नोभेम्बरसम्म पेश भएका डिमाण्ड प्रमाणीकरण गरिसकेको र २८ र २९ नोभेम्बरमा पेश भएका मागपत्रको प्रमाणीकरण बुधबार आज कार्यालय समयसम्मका गरिसक्ने जनाएको छ ।

कागजात पूरा नभएका, कागजात नमिलेका र कामदारहरुबाट आएका गुनासा फर्छौट नगरेका कम्पनीहरुका मागपत्रलाई पेन्डिङ राखी सम्बन्धित कम्पनीलाई सूचना दिने गरेको पनि दूतावासले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्