१९ लाख रुपैयाँ घुस रकमसहित तीन कर्मचारी पक्राउ



काठमाडौं, । सडक डिभिजन कार्यालय लहान, सिरहाका तीनजना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

सो कार्यालयका निमित्त डिभिजन प्रमुख विनोद साह, इन्जिनियर नवीनकुमार साह र सबइन्जिनियर वीरेन्द्रकुमार साह करिब १९ लाख रुपैयाँसहित समातिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले शुक्रबार उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

सेवाग्राहीसित रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिनेक्रममा उनीहरुले विभिन्न बहाना बनाइ घुस मागेको उजुरी अख्तियारमा परेको थियो ।

निमित्त डिभिजन प्रमुख साहलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालय परिसरमा रहेको कार्यालय प्रमुख आवासभित्रको बैठककक्षबाट नियन्त्रणमा लिइएको हो ।

यस्तै, इन्जिनियर नवीनकुमार साह र सबइन्जिनियर वीरेन्द्रकुमार साहलाई सेवाग्राहीबाट १५ लाख ९६ हजार घुस रकम लिइसकेको अवस्थामा सोही कार्यालय परिसरमै रहेको कर्मचारी आवासभित्रबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

नियन्त्रणमा लिइएका तीनैजनामाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्