कार्यालय प्रमुखलाई सांसदद्वारा मार्ने धम्की ! सुरुङमार्गको युग शुरू



काठमाडौंबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक-फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । मौसम परिवर्तनले ल्याएको सकस, ,बढ्दो महँगी, अर्थ मन्त्रालयकै उपसचिवलाई लाग्यो भ्रष्टाचारको मुद्दा, कसरी कमाए ४ करोड ? लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

आजको नेपाल समाचारपत्रमा प्रदेश सांसद सञ्जयकुमार यादवले सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मोसो दलेर हातखुट्टा भाँचिदिने धम्की दिएको खबर प्रकाशित छ । सांसद यादवको धम्कीपछि अधिकृत रामकुमार महतो असुरक्षित महसुस गर्दै १२ दिनदेखि कार्यालय गएका छैनन् । प्रदेश २ सरकारमा रहेको समाजवादी पार्टीका सांसद यादवले नगरपरिषद् रोक्न दबाब दिँदै प्रशासकीय अधिकृतलाई धम्की दिएका हुन् । आफूले जिल्ला सीडीओ, एलडीओलाई समेत नटेरेको बताउँदै नगरपालिकाको सामान्य कर्मचारी भएर कुरा नटेर्ने भन्दै महतोलाई गत आइतबार भौतिक कारवाही गर्ने धम्की दिएको अडियो रेकर्डले पुष्टि गरेको छ । प्रशासकीय अधिकृतलाई जे पनि गरिदिने भन्दै धम्क्याएपछि मोबाइल वार्ताको रेकर्डसहित सर्लाही जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । लातको भूत बातले मान्दैन भन्दै सांसद यादवले कर्मचारी महतोसित नगरपालिकाको काम र बजेट आफूसित सोधेर मात्र गर्नु भन्दै धम्क्याएका संवाद उक्त अडियो रेकर्डमा छ ।

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) ले सन्दिग्ध गतिविधि र राष्ट्र हितविपरीत काम गरेको आशंकामा नेपालमा क्रियाशील अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) माथि सूक्ष्म अनुसन्धान सुरु गरेको आजको कान्तिपुर दैनिकमा समाचार छ । आईएनजीओको आवरणमा अन्तर्रा्ष्ट्रिय आतंकवादी, विखण्डनकारी र राष्ट्रहितविरुद्धका समूहबाट रकम भित्रिएको आशंकामा राअवि (गुप्तचर) ले अनुसन्धान थालेको हो । पूर्व न्यायाधीश मोहनरमण भट्टराई नेतृत्वको जाँचबुझ आयोगले अलकायदा, आईएसआईएसलगायत अन्तर्रा्ष्ट्रिय आतंकवादी समूहले धार्मिक संघसंस्था र अन्य आवरणमा लगानी भित्र्याउन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न सरकारलाई सुझाव दिएको थियो । नेपालमा २ सय ५० भन्दा बढी आईएनजीओ सक्रिय छन् । अनुसन्धानमा परेका आईएनजीओको नाम गोप्य राखिएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले गैरसरकारी संस्थाका शंकास्पद गतिविधिको अनुसन्धान गर्नकै लागि उसका अचल सम्पत्ति बेचविखनमा रोक लगाइएको बताए ।

महँगीबारेको समाचार कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छापिएको छ । समाचार अनुसार उद्योग र होलसेल व्यवसायीले आफूखुसी उपभोग्य वस्तुको मूल्य बढाएका छन् । दाल, मैदा, तेललगायतका उपभोग्य वस्तुको आफूखुसी मूल्य बढाइएको हो ।उपभोक्तामाथि उद्योगी र व्यवसायीले महँगी थोपरे पनि नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने बजार हस्तक्षेपमा चासो दिएको छैन । कान्तिपुरका अनुसार मूल्य बढेको सन्दर्भमा विभागलालई जानकारी गराउन खोज्दा महानिर्देशकले समय नदिएको व्यवसायीले गुनासो गरेका छन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा पशुपतिनाथ मन्दिरको काठ कुहिएको समाचार छ । तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो । आँखी झ्याल अड्याउने फ्रेम पनि मक्किएको छ । ‘बीचको तलामा रहेका आँखी झ्याल अड्याउने नौ फिटका केही काठ मक्किएका छन्,’ श्रीपशुपतिनाथ मन्दिर अध्ययन समितिका सदस्य प्रेमहरि ढुङ्गानाले भने, ‘जीर्ण बनेका काठको नमुना निकालिएको छ । त्यसलाई पुरातत्व विभागको रसायनिक प्रयोगशालामा परीक्षण गर्ने तयारी छ ।’ विभागले पशुपति क्षेत्र विकास कोषसँग समन्वयमा भूकम्पपछि मन्दिर जीर्णोद्धारबारे अध्ययनका लागि गठित समितिको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो । उक्त तलामा भण्डारीलाई बालाचतुर्दशीको अघिल्लो दिनमात्र प्रवेश दिइन्छ । सोही बेला उनीहरुले काठको नमुना निकालेका थिए ।प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने नेकपा सचिवालयको निर्णयमा पार्टीका प्रदेशसभा सदस्य असन्तुष्ट बनेको विषय आज अन्नपूर्णले उठाएको छ । प्रदेशसभाको अधिकारमा पार्टी केन्द्रबाट हस्तक्षेप भएको भन्दै प्रदेशसभा सदस्य रुष्ट बनेका हुन् ।

नागरिक दैनिकमा नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण चीनबाट ल्याएका वाई–१२ सिरिजका चारवटै जहाज ग्राउन्डेड भएको छ । व्यवस्थापन पक्षले जनशक्ति अभावमा विभान ग्राउन्डेड भएको बताउँदै आए पनि यो सत्य भने होइन । पाइलट अभाव भएको भनिएका निगमका जहाजमा क्रमशः विभिन्न समस्या देखिँदै आएपछि ग्राउन्डेड गरिएका हुन् । ‘सुरुमा चिनियाँ जहाज चलाउन पाइलट अभाव भएको सत्य हो । पछिल्लो समय विमानमा धेरै समस्या देखिएका कारण उडान बन्द गर्नुपरेको हो,’ निगमका एक उच्च अधिकारीले भने, ‘सुरुमै चिनियाँ विमान ल्याउन नहुने भनिएको थियो तर व्यवस्थापनमा बस्ने व्यक्तिहरु र सरकारको दबाबमा ल्याउनुपरेको हो । ती अधिकारीका अनुसार छिमेकी मुलुक चीनले पनि केही विमान अनुदानमा दिएको देखाएर नेपाललाई थप जाहज किन्न दबाब दिएको थियो । चारवटा चिनियाँ विमानमध्ये पछिल्लो समय एउटा मात्रै वाई–१२ ले उडान भरिरहेको थियो । त्यो पनि गत पुस ६ बाट बन्द भएको छ ।

पत्रिकामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नकेपा) का शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनका लागि भागबन्डा गरेर उम्मेदवार टुंगो लगाएको समाचार छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाबीच भागबन्डा गरेर उम्मेदवार तय गरिएको हो । उम्मेदवारी दर्ताका लागि आइतबार मिति तय भइसकेको छ । पूर्व एमालेबाट ९ र पूर्वमाओवादीबाट सात जना तय गरिएपछि सातै प्रदेशबाट आफ्नो अनुकुल नाम प्रस्तुत गरिएको थियो । यसमा केपी ओली पक्षका ६, पुष्पकमल दालहाल पक्षका ४, माधवकुमार नेपाल पक्षका ३, नारायणकाजी श्रेष्ठ पक्षका २ र रामबहादुर थापा पक्षका १ जना उम्मेदवार परेका छन् ।

नयाँ पत्रिका दैनिकमा शैक्षिक योग्यताको प्रमाणपत्रमाथि छानबिन सुरु भएपछि नेपाल प्रहरीको ब्यान्ड गुल्म केन्द्रीय संगीत विद्यालयका प्रमुख राजेन्द्र गुरुङले राजीनामा दिएका छन् । धरायसी कारण देखाउँदै तीन दिनअघि उनले पदबाट राजीनामा दिएका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले एसपी गुरुङले राजीनामा दिएको पुष्टि गरे । प्रहरी स्रोतका अनुसार गुरुङले प्रवीणता प्रमाणपत्र तहको प्रमाणपत्र पेस गरी साइबाट नेपाल प्रहरीको संगीत विद्यालयमा सेवा सुरु गरेका थिए । उनले कुनै एकेडेमिक अध्ययन गरेका भने होइनन् । नेपाल कै एक निजी संगीत कला केन्द्रमा केही समय संगीत सिकेका गुरुङले सोही प्रमाणपत्रलाई आइएसरह भन्दै जागिर प्रवेश गर्दा बुझाएका थिए । सो प्रमाणपत्र त्रिभुवन विश्वविद्यालयबाट इक्विभ्यालेन्ट भएको भन्दै उनले प्रहरी प्रधान कार्यालयमा पेस गरेका थिए । सोही प्रमाणपत्रको आधारमा उनी इन्सपेक्टर, डिएसपी हुँदै एसपीसम्म भए । गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्रविरुद्ध उजुरी परेपछि प्रहरीले आन्तरिक रुपमा छानविन गरेको थियो । छानविनका क्रममा त्रिविले प्रमाणपत्र विश्वविद्यालयबाट इक्विभ्यालेन्ट नभएको पत्र पठाएपछि उनी नैतिक संकटमा परेका थिए ।  पत्रिकामा देशभरका ८३ मध्ये १६ जिल्ला अस्पताल न्यूनतम सेवा मापदण्डमा फेल भएको समाचार छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनमा ती अस्पतालहरू न्यूनतम सेवा मापदण्डमा निकै कमजोर साबित भएका हुन् ।

मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग शुरु भएको समाचारलाई गोरखापत्र दैनिकले शीर्ष समाचार बनाएको छ । समाचारमा हाललाई एक सुरुङ मार्ग सञ्चालनमा आएको र अन्य छवटा सुरुङ मार्ग सञ्चालनमा ल्याइने तयारी भइरहेको लेखिएको छ । त्यस्तै एक अर्को मार्गको विस्तृत अध्ययन अगाडी बढाइएको छ । नागढुङ्गा – सिस्नेखोला सुरुङ मार्ग सञ्चालनमा आएको छ भने सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएकामध्ये नवलपरासीको दाउन्ने, सिन्धुलीको खुर्कोट, दोलखाको लामाबगर, कास्कीको हेम्जा, मकवानपुरको भीमफेदी – कुलेखानी सूर्य्विनायक – धुलिखेल रहेका छन् । यसैगरी विस्तृत योजना प्रतिवेदन तयार भइरहेको पाल्पाको सिद्दबाबा र सम्भावना अध्ययन जारी रहेका थानकोट – चित्लाङ, टोखा – छहरे, वीपीनगर – खुटिया – दिपायल, सिन्धुलीको खुर्कोट – चियाबारी, ललितपुरको गोदावरीकुण्ड – मानेचौर रहेको पत्रिकामा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्