झनै सकसपूर्ण बन्दै सभामुख चयन, सङ्गीतबाट निको हुन्छन् धेरै रोग



काठमाडौंबाट शनिबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक-फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । प्रदेश नं ३ को स्थायी राजधानी हेटौंडा नै , सभामुख चयनको विषय , पाम तेल निर्यात ठप्प लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

यती समूहले दरबारमार्ग्स्थित नेपाल ट्रष्टको जग्गामा बनाइरहेको भवनमा काम रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको र प्रदेश ३ को राजधानी हेटौंडा नै हुने विषयलाई पनि आजका पत्रिकाहरुले प्राथमिकताका साथ समेटेका छन् ।

प्रतिनिधिसभा सभामुखविहिन भएको चार महिना बितीसक्दा पनि सत्तारुढ नेकपाका नेताहरुले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झनै सकसपूर्ण भएको विषयमा कान्तिपुर दैनिकले मुख्य समाचार लेखेको छ । समाचारमा शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच करिब तीन घण्टा भएको छलफल पनि टुंगोमा पुग्न सकेन ।

‘आइतबार डाकिएको संसद् बैठक भरसक स्थगित गर्न नपरोस् भनेर उहाँहरु छलफलमा जुट्नु भएको थियो,’ अध्यक्षद्वय निकट स्रोतले भन्यो,‘तर सहमति भएन, तत्काल सहमति हुनेगरी अघि बढेको पनि देखिएन ।’ छलफलमा अध्यक्ष दाहालले एकीकरण पूर्वको सहमतिअनुसार पूर्वमाओवादीलाई सभामुख दिन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।ओली र दाहाल आ–आफ्ना कुरामा अडिग रहेपछि सभामुख चयनको विषयमा पेचिलो बन्दै गएको छ ।

यता सभामुख बन्न उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले संसद्लाई बन्धक नबनाउन आग्रह गर्दै सभामुखबारे छिटो निर्णय लिन आग्रह गरेकी छिन् अन्नपूर्ण पोस्ट्को समाचार अनुसार उनले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग त्यस्तो आग्रह गरेकी हुन् । प्रधानमन्त्री निवास बालुवाटार पुगरे उनले आफूलाई सभामुख बनाउन आग्रह गरेकी थिइन ।

गोरखापत्र दैनिकमा आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको निर्यात हुन सकेको छैन ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालका अनुसार दुई दिनभित्र पाम तेल निर्यात भएको कुनै जानकारी मन्त्रालयलाई आएको छैन । नेपालमै उत्पादन नभए पनि मलेसिया र इन्डोनेसियाबाट कच्चा पाम आयात गरी प्रशोधन गरेर नेपालबाट भारत निर्यात हुँदै आएको छ ।पाम तेलकै कारण निर्यातमा निकै ठूलो फड्को मारेको नेपालका लागि व्यापार घाटा कम गर्न यसको महìवपूर्ण योगदान थियो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनासम्म नेपालबाट ११ अर्ब ५२ करोड रुपियाँको यस्तो तेल भारत निर्यात भएको छ । यो नेपालबाट निर्यात भएका कुनै अन्य वस्तुमध्ये सबैभन्दा धेरै पनि हो ।नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमै प्रतिबन्ध लागेपछि त्यसको प्रभावबारे बिहीबार मात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरकार र उद्योगीबीच छलफलसमेत भएको छ । पाम तेल प्रतिबन्धपछि भारत सरकारको आधिकारिक धारणा खोज्दै नेपाल सरकारको तर्फबाट अनौपचारिक कुराकानी भइसकेको मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए ।

राजधानी दैनिकमा ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीमा अन्तर्घातको त्रास बढेको समाचारलाई प्रथप पृष्ठमा प्रकाशित गरिएको छ । यही त्रासका कारण राजपाका सशंकित बनेका छन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससँग निर्वाचनमा सहमति गरेको समाजवादी पार्टीले राजपा नेपालकै मतादातालाई प्रभावमा पार्ने शंकाले नेताहरुमा त्रास बढेको समाचारमा विश्लेषण गरिएको छ ।सत्तारुढ नेकपासँग राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजपाले सहमति गरिसकेको छ । तर पछिल्लोपटक समाजवादी पार्टीका नेताहरु राजपा नेपालका मतादाताहरुलाई प्रभावमा पार्ने र भोट क्रस गर्ने काममा लागेको सूचना आउन थालेपछि राजपा नेपालको पूर्व्निर्धा्रित कार्यक्रम स्थगित भएको समेत समाचारमा लेखिएको छ । पत्रिकामा उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूलाई सभामुख बनाउन गरेको अनुरोधलाई प्रमुख समाचार बनाएको छ ।

आजको अन्नपूर्ण पोष्ट् दैनिकमा अन्ततस् राजधानी हेटौंडा नै शीर्षकमा प्रमुख समाचार छ । समाचारमा लेखिए अनुसार सत्तारुढ नेकपासहितका मुख्य दलहरु राजधानी हेटौंडामै राख्न सहमत भएका हुन् । राजधानीको विषयलाई लिएर नेकपाभित्र प्रदेश सांसदहरुको तीव्र मतभेद भएपनि शुक्रबार प्रदेश ३ संसदीय समितिको बैठकले हेटौंडाका विषयमा सहमति गरेको हो । पत्रिकाले सभामुख बन्न तुम्बाहाम्फेको दौड र क्रसर डनको विरोध गर्दा मृत्यु जस्ता समाचारलाई पनि प्राथमिकताका साथ शीर्ष स्थानमै राखेर छापेको छ ।

आजको गोरखापत्र दैनिकमा भने संगीतबाट धेरै रोग निको हुने रोचक समाचार छ । ‘संगीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये संगीत चिकित्सा (म्युजिक थेरापी) पनि एक हो,’ गोरखापत्रले लेखेको छ ।संगीत चिकित्साको प्रयोगबाट टाउको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुने समाचारमा उल्लेख छ । त्यसैले आफ्ना सन्तानलाई संगीत सुन्न, गाउन, वाद्ययन्त्र बजाउन प्रोत्साहित गर्नुपर्ने सुझावसमेत दिइएको छ ।

अन्नपूर्ण पोस्टमा अनुसार प्रदेश नं सरकारले २२ महिनामा उपलब्धिमूलक काम खासै गर्न सकेको छैन । मन्त्रीहरुले सेवासुविधा र सुखसयलमा भने कुनै कमी राखेका छैनन् । उनीहरुले तीनवटासम्म सरकारी गाडी उपभोग गरिरहेका छन् । केही मन्त्रालयले नयाँ गाडी खरिद प्रक्रियासमेत अघि बढाएका छन् ।नयाँ गाडी ल्याएपछि पुरानोचाहिँ प्रशासनलाई बुझाउनुपर्ने हुन्छ । तर, उनीहरुले पुराना गाडी पनि छाडेका छैनन् । मुख्यमन्त्री लालबाबु रावतले मात्रै नयाँ किनिएको ज।१ झ ४५६ नम्बारको एउटा गाडी प्रयोग गर्छन् । आर्थिक मामिलामन्त्री विजय यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, वन, पर्यटन तथा वातावरणमन्त्री रामनरेश राय, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दुवै गाडी चलाउँदै आएका छन् । उनीहरुले पूरानो गाडी आफन्त, परिवार र कार्यकर्तालाई दिएको खुलेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्