वैदेशिक रोजगार : मलेसियामा सबै देशबाट शून्य लागतमा कामदार



काठमाडौं : अमेरिका सहित केही पश्चिमी मुलुकहरु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको दवाव झेल्दै आएको मलेसियाले कामदार आपूर्ति गर्ने सबै श्रोत मुलुकहरुबाट ईम्प्लाईमेन्ट पे मोडलमा कामदार लैजाने भएको छ । नेपालसँग गत कात्तिकमा ईम्प्लाईमेन्ट पे मोडलमा समझदारी गरिसेकेको मलेसियाले बंगलादेशबाट पनि सोही मोडलमा कामदार लैजाने गरी छलफल चलाइरहेको मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले त्यहाँका सञ्चारमाध्यमलाई बताएका छन् ।

१ करोड २९ लाख २० हजारभन्दा बढी मजदुरले काम गर्ने मलेसियाका उद्योग प्रतिष्ठानहरुमा आप्रवासी कामदारहरुको संख्या करिब ३२ लाख रहेको छ । इण्डोनेशिया पछि नेपाल कामदार पठाउने दोश्रो ठूलो मुलुक हो । अघिल्लो सरकारको पालामा मलेसियाले तीन वर्षको अवधिमा १५ लाख बंगलादेशी कामदार लैजाने सम्झौता गरेपनि त्यसको अझैसम्म कार्यान्वयन हुन सकेको छैन ।

पछिल्ला दिनमा मलेसियाका केही रबर उद्योगमाथि विदेशी कामदारहरुलाई शोषण गरेको आरोप लागेको छ । त्यसमध्ये प्रशिद्ध कम्पनी टप ग्लोब्स् र डब्लुआरपी माथि नेपाली र बंगलादेशी कामदारहरुलाई तलव तथा अन्य सुविधा नदिएर शोषण गरेको आरोप छ । जसरी भएपनि रोजगारीका लागि मलेसिया जाने र उतै बसोवास गर्ने योजनामा रहने बंगलादेशीहरु लाखौं रुपैयाँ दलाललाई बुझाउन राजी हुने गरेका छन् ।

मलेसियाले सम्झौता अनुसार तलव सुविधा दिने पटक पटक प्रतिवद्धता व्यक्त गरेको छ । सम्झौता अनुसार तलव सुविधा नपाए आफ्नो श्रम विभागमा उजुरी गर्न नेपाली कामदारहरुलाई आग्रह गरेको मलेसियाले नेपाली कामदार ठगीमा पर्ने तर श्रम विभागमा उजुरी हाल्न हिच्किचाउने गरेको भन्दै बिना हिच्किचाहट त्यहाँको श्रम विभागमा उजुरी गर्न आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्