सभामुख चयनमा अन्यौलता, ओलीले अडान नछाडेपछि प्रचण्ड अप्ठ्यारोमा, यता तुम्बाहाङफेको –राजीनामा नदिने अडान



काठमाडौंबाट आइतबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक/फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् । सभामुख चयनमा अन्यौलता, लगायतका विभिन्न राजनीतिक, आर्थिक र समाजिक क्षेत्रक विषयमा आजका पत्रपत्रिकाहरुमा समाचार छापिएका छन् ।

सत्तारुढ नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्यौलमा परेको सामाचार कान्तिपुर दैनिकमा छापिएको छ । कार्यतालिकाअनुसार सभामुखको निर्वाच्न प्रक्रिया सुरु गर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेकाले बैठक बोलाउने, नबोलाउने अन्यौल बढेको संसद् सचिवालय स्रोतले जनाएको छ । ‘नेकपाका तर्फबाट अहिलेसम्म खबर आएको छैन, सम्भवतः आइतबार पनि सभामुखको चुनवाी प्रक्रियामा जान सकिँदैन होला,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘बैठक बोलाएर सभामुखको चुनावी प्रक्रिया अलि ढिलो सुरु गर्न पनि सकिन्छ ।’ यसअघि दुई पटकसम्म दुई दिनभित्रै सभामुख चयन गर्ने गरी कार्यतालिनका तय गरिएको थियो । तर नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि पुस ११ र १६ मा बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

नागरिक दैनिकमै पनि प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । ओली सरकार सञ्चालनमा सहयोग पुग्नेगरी आफूले चाहेको पात्रलाई नै सभामुख बनाउने अडानमा छन् । बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि सभामुख चयनबारे कुनै छलफल हुन सकेन । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेर मात्रै उक्त बैठक टुङ्गियो । ओली मिर्गौला डायलाइसिस गराएर आरम गरिरहेका कारण बैठकमा उपस्थित नभएका हुन् । बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीकै सहमतिमा उपसभामुखलाई पदबाट राजीनामा दिन आग्रह गर्ने प्रस्ताव गरिएको स्पष्ट पारे । नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पनि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । उपसभामुख पदबाट उनले राजीनामा नदिए नेकपाले सभामुख पद गुमाउन सक्छ ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्। ‘म राजीनामा दिन्न, आइतबारको संसद् बैठक सञ्चालन गर्छु’, तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्। पार्टीले राजीनामा माग्ने कुरा अनौठो नभएको तुम्बाहाङफेले बताइन्। ‘राजीनामा माग्ने कुरा नियमित प्रक्रिया हो। दलहरू प्रक्रियामा अघि बढ्छन्, मेरो राजीनामा मागिएको विषय मलाई थाहा छैन’, तुम्बाहाङफेले भनिन्

नागरिक दैनिकमा छाउपडी कुप्रथाका कारण १० वर्षमा १४ किशोरीको मृत्यु भएको समाचार छ । महिनावारी हुँदा घरभन्दा टाढा एकान्तमा बनाइएको छाउगोठमा एक्लै बस्नुपर्दा अछाममा कयौं किशोरी र महिलाले छाउगोठमा मृत्युवरण गर्नुपरेका कहालीलाग्दा कथा छन्। अरूतिर महिनावारी हुँदा घरभित्रै अलग बस्ने चलन भए पनि सुदूरपश्चिमका अछामलगायत दुर्गम बस्तीका महिलाहरू एकान्तमा बनाइएको छाउगोठमा बस्ने कुप्रथा छ। यी छाउगोठ महिनावारी भएका बेला वास बस्ने महिनाका लागि ज्यानमारा धरापसरह थिए। विषालु सर्प हुने, फोहोरले विभिन्न रोगको संक्रमण भएर र न्यानो ओढ्ने लुगा नहुँदा जाडोले र आगोको धुवाले निसासिएर कयौं महिलाको अकालमै मृत्यु भएको स्थानीय बताउँछन्। जिल्ला प्रहरी कार्यालय तथा महिला विकास शाखा अछामका अनुसार अछाममा १० वर्षयता छाउगोठमा किशोरी तथा महिला गरी १४ जनाको मृत्यु भइसकेको छ। छोरी, बुहारी, दिदी–बहिनीको महिनावारी भएको बेला गोठमै मृत्यु हुँदासमेत अधिकतर महिलाहरू गोठमै सुत्ने गरेका थिए। परिवारको सदस्य गोठमै गुमाउनुपरेको पीडा बोक्दै किशोरी तथा महिलाहरू आफ्नोसमेत ज्यान जोखिममा राखेर गोठमै बसिरहेका हुन्।  यतिबेला अछामलगायत सुदूरपश्चिमका सबैतिर छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ। सबैभन्दा बढी अछाममा छाउगोठ रहेका छन्। अहिलेसम्म अछाममा एक हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताएका छन्।

नयाँ पत्रिका दैनिकमा काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । काठमाडौंका ६ ठूला अस्पतालको सेवा अनुगमन गर्न २५ भदौ ०७६ मा समिति गठन गरेको थियो । मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा। तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्करराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्यवस्था विभागका प्रतिनिधि पनि थिए । बल्खुस्थित वयोधा अस्पतालले सन् २०१५ देखि ०१८ सम्म सात सय विदेशी पर्यटकलाई स्वास्थ्य सेवा दिएको थियो । तर, अध्ययन टोलीको प्रतिवेदनअनुसार सो अस्पतालमा एउटै बिरामीलाई १७ दिनमा विशेषज्ञ डाक्टरले एक सय नौपटक ‘राउन्ड सर्भिस’ दिएको बिल बनाइएको थियो । ‘तर, अस्पतालको आन्तरिक अभिलेखमा भने एकजना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएको पाइएको छ,’ प्रतिवेदन भन्छ, ‘एउटै बिरामी एकै समयमा एसआइसियू, आइसियू, डिलक्स रुम र स्विट रुममा भर्ना भएको भनेर बिल चार्ज गरिएको छ ।’ अस्पतालको चार्जलिस्टमा डिलक्स रुमभन्दा सिसियू महँगो छ । तर, विदेशी पर्यटकसँग सिसियूभन्दा डिलक्स रुमको बढी पैसा उठाइएको छ ।

पत्रिकामा नेपाल आयल निगमले ३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै विगत केही वर्षदेखि नाफामा जान थालेपछि कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको छ । निगमको बिहीबार बसेको बैठकले आर्थिक वर्ष ०७५–७६ को नाफाबाट एक प्रतिशत रकम बोनसबापत वितरण गर्ने अधिकार व्यवस्थापनलाई दिएको हो । त्यति मात्रै होइन, निगमको शनिबार आयोजित ५०औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई थप एक महिनाको तलब पुरस्कारस्वरूप दिने घोषणा गरियो ।चार वर्षअघिसम्म निगमको सञ्चित घाटा ३५ अर्ब रुपैयाँ थियो । थप ३६ अर्ब रुपैयाँ ऋण थियो । यसबीचमा निगम सञ्चित नोक्सानी र ऋण चुक्ता गरेर चार वर्षदेखि निरन्तर नाफामा छ । खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बेची निगमले नाफा आर्जन गर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि बढाउने, तर बाहिर घट्दा यहाँ मूल्य नघटाएर चर्को नाफा कमाउने रणनीति निगमले अँगाल्दै आएको छ ।

आजको अन्नपूर्ण पोष्ट् दैनिकमा ‘मेयरले मिचाए सार्वजनिक जग्गा’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । बाटो विस्तारका क्रममा जनकपुरधाम उपमहानगरपालिकाले रामजानकी मन्दिरतर्फ मात्र जग्गा कटाएको उजुरीबारेको समाचारलाई पत्रिकाले विश्लेषण गरेको हो ।समाचारमा लेखिएअनुसार धनुषाधाम उपमहानगरपालिकाले रामजानकी मन्दिरमाथि घोर अन्याय गरेको छ । एकतिरका निजी घर जोगाई मन्दिरकै मात्र जग्गा काटेर मन्दिरको जग्गा अतिक्रमण गरिएको हो । सरकारी निकायले मन्दिरलाई जोगाउनुको सट्टा उल्टै अतिक्रमणलाई सघाएको देखिएको छ । यसैलाई लिएर त्यहाँको नागरिक समूदाय आन्दोलित बनेको छ ।मेयर लालकिशोर साहले मन्दिरको पूर्वतर्फ बनाइएका निजी घर नभत्काई जानकी मन्दिरकै मात्रै जग्गा कटाउन निर्देशन दिएको कर्मचारीले बताएको पत्रिकामा उल्लेख छ ।

अन्नपूर्णले रामजानकी जग्गा अतिक्रमणमा परेको लेखेको छ । समाचार अनुसार, मेयरले नै रामजानकीको जग्गा मिचाएका छन् । सडक विस्तार गर्दा सडकको दुवैतर्फका जग्गा लिइन्छ । तर मेयर लालकिशोर साहले पूर्वतर्फ बनाइएको घर नभत्काइ जानकी मन्दिरकै मात्र जग्गा कटाउन निर्देशन दिएको पाइएको छ । रामजानकी मन्दिरतर्फको जग्गा मात्रै अतिक्रमण गर्न खोजिएपछि नागरिक समुदाय आन्दोलित भएको समाचारमा उल्लेख छ । उत्खननको विरोध गर्दा धनुषामा मारिएका दिलीप महतो हत्याबारे पनि अन्नपूर्णले समाचार छापेको छ । अन्नपूर्णका अनुसार सुरुदेखि नै तस्करको तारोमा पर्दै आएका दिलीपलाई ५० हजार लिएर हत्या गरेको खुलेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्