‘झन्डा हल्लाउन र गाडी चढ्न मुख्यमन्त्री र मन्त्री बनेको हो ? जनार्दनको आक्रोश



‘तपाईंहरूलाई लाज लाग्दैन? झन्डा हल्लाउन र गाडी चढ्न मुख्यमन्त्री र मन्त्री बनेको हो ? सडकको अवस्था हेरे हुन्छ, कन्तबिजोग छ । विकासमा ध्यान छैन, बजेटजति सबै फ्रिज, कुरा मात्रै ठूला ।’

यो कुनै सर्वसाधारण नागरिकको गुनासो होइन । नेकपा कर्णाली प्रदेश कमिटी इन्चार्ज जनार्दन शर्माले सात महिनाअघि ठूलो आवाजमा पोखेको आक्रोश हो । कर्णाली प्रदेश सरकारले विकास निर्माण र भावी बजेटका विषयमा छलफल गर्न गत जेठ पहिलो साता संघीय सांसद, प्रदेश सांसद र पार्टीका केन्द्रीय सदस्यहरूलाई वीरेन्द्रनगर सुर्खेतमा जमघट गरायो । छलफल चलिरहेका बेला इन्चार्ज शर्मा हलभित्र छिरे । उनले बोल्न समय मागे । समय पाउनासाथ उनले प्रदेश सरकार, मुख्यमन्त्री र मन्त्रीको शिर निहुरिनेगरी आलोचना गरे ।

उनले लगातार प्रहार गरिरहे– ‘प्रदेश राजधानी सुर्खेतका सडकहरू देख्नुभएको छैन ? कुन हालतमा छन् ? विकासका ठूला–ठूला योजना बनाउने तर कार्यान्वयन गर्न नसक्ने ? कामगर्न नसक्ने हो भने सामूहिक राजीनामा दिनुहोस् ।’

करिब २५ मिनेटसम्म उनले लगातार मुख्यमन्त्री र मन्त्रीलाई झपारिरहे । सांसद र पार्टीका केन्द्रीय सदस्यले चुपचाप सुनिरहे । एक जना सांसदले मात्र ताली बजाए, अन्यले एकअर्काको मुहार हेरे तर प्रतिक्रिया जनाएनन् । शर्माले लगातार हप्काउने शैलीमा आक्रोश पोखेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अर्थमन्त्री प्रकाश ज्वाला र अन्य मन्त्रीपनि मौन बसे । आफू बोलेपछि शर्मा अरूको कुरा नै नसुनी हलबाट बाहिरिए ।

त्यसलगत्तै अर्का एक सांसदले बोल्न हात उठाएका थिए । मुख्यमन्त्री शाहीले भनिहाले, ‘तपार्इं पनि गाली त गर्ने होलानि ?गर्नुहोस् ।’ कर्णाली प्रदेश सरकारले पहिलो नीति तथा कार्यक्रममा आकर्षक र महत्वाकांक्षी योजना ल्याएको थियो । प्रदेश ५ बर्दियाको भुरीगाउँबाट सुर्खेतको वीरेन्द्रनगरसम्म सुरुङमार्ग खोल्ने, कोहलपुर–हिल्सा सडक निर्माण गर्ने, भेरी र कर्णालीकरिडोर निर्माण गर्ने, अग्र्यानिक खेतीजस्ता महत्वपूर्ण योजना थिए । तर,प्रदेश सरकारको आधा कार्यकाल सकिँदा एउटा पनि योजनाले गन्तव्य पहिल्याउन सकेको छैन ।

नीति र योजना ल्याएपनि कार्यान्वयन गर्न नसक्नु मुख्य समस्या देखिएको छ । सरकारले ल्याएका योजना कार्यान्वयमा न सत्तारुढ दलका नेता, सांसदले चासो दिएका छन् नत मन्त्रीहरू नै यस विषयमा जवाफदेही बनेका छन् ।

सरकार र सांसद मात्र होइन, कर्णाली प्रदेश योजना आयोगपनि यस विषयमा बोल्न चाहँदैन । ‘हामीले सरकार र लाइन मिनिस्ट्रीहरूलाई सुझाव दिएका छौं, तपाईंले त्यहीं सोध्नुहोस्’,आयोग सदस्य दीपेन्द्र रोकायले भने ।

बायाँतर्फका को थिए ‘त्यो भाइ’ ?

प्रदेश इन्चार्ज शर्माले झाँको झारेपछि साँझ कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकमा दिउँसो भएको छलफलको विषय पनि एजेन्डा थियो । त्यही क्रममा तत्कालीन मन्त्री खड्ग खत्रीले दिउँसो भएको कुरा सम्झिँदै भने, ‘बायाँतिर बसेको त्यो भाइले भनेको कुरा राम्रो र सत्य थियो । उनले दिएका सुझाव राम्रा थिए ।’

खत्रीको कुरा सुनेपछि मुख्यमन्त्री र मन्त्रीहरू अलमलमा परे । दायाँतिरको त्यो भाइको हो ? पछि बल्ल कुरा खुल्यो । त्यो भाइथिए– नेकपा केन्द्रीय सदस्य तथा विदेश विभागका उपप्रमुख विष्णु रिजाल । आफ्नै पार्टीका केन्द्रीय सदस्यसम्म चिन्न नसक्ने व्यक्ति कर्णाली प्रदेश सरकारका मन्त्री थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्