वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीले श्रमिकलाई झन् समस्या, व्यवसायी भन्छन्- आर्थिक भार थपियो



काठमाडौं । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस)मा देखिएको प्राविधिक समस्याले श्रमिकलाई झन् अन्योल बनाएको छ ।

बुधबारदेखि सर्भरमा देखिएको आंशिक समस्या शुक्रबारसम्म देखिए पनि यसको मर्मतसँगै आंशिक सुधार आएको बताइएको छ । विभागको श्रम कार्यालयका अनुसार बुधबार र बिहीबार एक÷डेढ घण्टाबाहेक अधिकांश समय सर्भरले काम नै गरेन । शुक्रबार बिहान समस्यामा केही सुधार आए पनि दिउँसो खुल्ने र बन्द हुने क्रम भइरहेको थियो तर मर्मतपछि सुधार भई काम भएको बताएको छ ।

विभागको सर्भरमा समस्या आउँदा म्यानपावर व्यवसायीसँगै श्रमिकलाई पनि थप आर्थिक भार थपिएको वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कमल तामाङ बताउनछन् ।

सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सम्पूर्ण सेवामा असर परेको छ भने । यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् । श्रम कार्यालयका अनुसार अहिले दैनिक एक हजारभन्दा बढीले श्रमस्वीकृति लिने गरेका छन् । सर्भरमा आएका समस्याका कारण आजै टिकट भएका सेवाग्राही मर्कामा परेका छन् ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले ‘तीन दिनदेखि सर्भरमा आएको समस्याका कारण सेवाग्राहीलाई दुःख भएको र सोको मर्मतका लागि विभागलगायत सम्बन्धित निकायको प्राविधिक टोलीले निरन्तर खटिइ रहेको, बताउँछन् ।

उनले भने, सर्भरका कारण आकस्मिक रूपमा उत्पन्न व्यवधान भएकाले यसको मर्मत भई सूचारु नहुञ्जेलसम्मका लागि सेवाग्राही पर्न गएको सुविधाप्रति विभाग जानकार रहेको छ र समाधनका लागि रातदिन प्राविधिकले मर्मतको काम गरिरहेका छन् ।

विभागका महानिर्देशक भुसालका अनुसार बिहीबार रातिदेखि नै सर्भरमा देखिएको समस्या पूर्ण समाधानका लागि पहल भइरहेको र सेवाग्राहीलाई सेवा दिने काम पनि आंशिक रूपमा भइरहेको छ ।
साथै विभागले उडानको मिति एकदमै नजिक भएपछि श्रम स्वीकृतिका लागि आवेदन गर्दा हुनसक्ने प्राविधिक समस्यालाई मध्यनजर गरी उड्ने समय एक साता हुँदै श्रमस्वीकृतिका आवेदन प्रक्रिया पूरा गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

विभागका महानिर्देशक भुसालले अहिले सबै अनलाइनबाट काम हुने सर्भरमा समस्या आउनेवित्तिकै सबै काम रोकिने भएकाले समयमै श्रमस्वीकृतिको प्रक्रिया गर्न आग्रह गरे। उनले भने, ’आजै टिकट भएका पनि एकदिनमा श्रमस्वीकृतिको सबै प्रक्रिया पूरा गरेर विदेश जान्छु भनेर आउनु हुँदोरहेछ तर प्रणालीमै समस्या आएपछि त उहाँहरूले उडान रद्द गर्नुपर्‍यो, त्यसैले सेवाग्राहीले उड्नेभन्दा कम्तीमा एक साता पहिले श्रमस्वीकृति लिनुपर्छ ।’

समस्याको छिटो समाधान खोज्न आग्रह

वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीले विभागका अनलाइन सिस्टममा समस्या आएका कारण व्यवसायीले अनावश्यक आर्थिक भार खेप्नुपरेको गुनासो गरिरहेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले अन्तिम श्रम स्वीकृति नभएकै कारण धेरै व्यवसायीले लिएका टिकट बिहीबारदेखि रद्द गर्नुपरेकाले छिटोभन्दा छिटो समस्या समाधान गर्न विभागलाई आग्रह गरेको छ ।

विभागले २०२० को जनवरी १ बाट आफ्ना सम्पूर्ण सेवा पूर्ण रूपमा अनलाइन प्रणाली (वैदेशिक रोजगार सूचना प्रणाली)मार्फत शुरू गरेको थियो तर अनलाइन सेवामा पनि पटक–पटक प्राविधिक समस्या देखिँदा सेवा प्रभावित हुँदै आएको छ ।

शनिबार पनि श्रम कार्यालय खुला हुने

उनका अनुसार सेवाग्राहीको चापलाई हेरेर शुक्रबार बेलुकी अबेरसम्म श्रम कार्यालयले सेवा प्रवाह गर्नेछ । महानिर्देशक भुसालले सेवाग्राहीको हितलाई ध्यानमा राखेर शनिबार पनि ताहाचलस्थित श्रम कार्यालय ताहाचल खुला गरेर सेवा दिइने जानकारी दिए ।

टिकट सार्न व्यवसायीलाई आग्रह

माघ १ गतेदेखि नै प्राविधिक समस्या देखिएकाले यस अगाडि नै टिकट बुकिङ गरिसकेका व्यवसायीलाई टिकट पछाडि सार्नसमेत विभागले आग्रह गरिरहेको छ ।

महानिर्देशक भुसालले सर्भरका कारण सेवाग्राहीलाई कुनै पनि सेवा दिन समस्या भएकाले सिस्टम चलेपछि पहिलो प्राथमिकता टिकट बुक गरेर अन्तिम श्रम स्वीकृति लिन आउनेलाई दिन निर्देशन दिइसकेको जानकारी दिए। अहिलेकै अवस्था रही रहे अन्तिम श्रम स्वीकृतिको काम नभए शनिबार र आइतबार टिकट बुक गरेकाको टिकट रद्द भएमा ठूलो रकम नोक्सानी हुनेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्