“म्यानपावर व्यवसायीहरुले युवाहरुलाई सुरक्षित काममा पठाउनुस्” : कांग्रेस सभापति देउवा



काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवाहरुलाई सुरक्षित काममा विदेश पठाउन आग्रह गरेका छन्।

शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको १० औँ वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै देउवाले युवाहरुलाई सुरक्षित काममा विदेश पठाउन आग्रह गरेका हुन्।

कार्यक्रममा बोल्दै कांग्रेस सभापति देउवाले वैदेशिक रोजगारीले देशको अर्थतन्त्रमा निकै महत्वपूर्ण योगदान पुर्‍याएको बताए।

‘परिवार पाल्नकै लागि विदेशिएका युवाहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा निकै ठूलो योगदान पुगेको छ, जसकारण म्यानपावर व्यवसायीहरुले उनीहरुको सुरक्षामा ध्यान पुर्‍याउनुपर्छ‚’ कांग्रेस सभापति देउवाले भने। म्यानपावर व्यवसायीहरुलाई समेत स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

यही साधारण सभाको अवसरमा हुन लागेको लोकतान्त्रिक फोरमको निर्वाचनलाई समेत मर्यादित बनाएर अघि बढ्न सभापति देउवाले सुझाए।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँडले म्यानपावर व्यवसायीहरु चुनौतीपूर्ण अवस्थामा रहेको बताए।

‘कम्युनिस्ट सरकारले अधिनायकतावाद सिर्जना गरी व्यवसायीमाथि नियन्त्रणकारी भूमिका खेलेको छ, लोकतान्त्रिक मुलुकमा यस्तो अधिनायकवाद स्वीकार्य छैन। स्वतन्त्र रुपमा म्यानपावर व्यवसायीहरुले आफ्नो व्यवसाय गर्न पाउँनुपर्छ‚’ प्रमुख सचेतक खाँडले भने। यसका लागि सबै व्यवसायीहरु एकजुट भएर अघि बढ्नुपर्ने उनले बताए।

म्यानपावर व्यवसायीभित्र रहेका कमी कमजोरीहरुलाई पनि सुधार तथा परिष्कृत गर्दै लैजाने कार्यमा कांग्रेस सदैव हातेमालो गर्न तयार रहेको उनको भनाइ थियो।

पछिल्लो समय कम्पनी सञ्चालन गर्न ठूलो धनराशी धरौटी राख्नुपर्ने व्यवस्था तथा ठूलो संख्यामा कामदार वैदेशिक रोजगारीमा पठाउनै पर्ने व्यवस्था निन्दनीय भएको उनले बताए।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका प्रमुख सचेतक सुरेन्द्र पाण्डेले नेपालको संविधानमा पेशागत सुरक्षाको ग्यारेन्टी गरेकाले स्वतन्त्र रुपमा म्यानपावर व्यवसाय सञ्चालन गर्न पाउने व्यवसायीहरुको अधिकार रहेको बताए।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीक फोरमलाई तथा सम्पूर्ण म्यानपावर व्यवसायी र मुलुककै हितमा नेपाली कांग्रेस रहेको उनले जिकीर गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्