कलेजले गुणस्तरीय शिक्षालाई प्रतिष्ठाको विषय बनाउनुपर्छ : मन्त्री बराल



भैरहवा । प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले कलेजले गुणस्तरीय शिक्षालाई प्रतिष्ठाको विषय बनाउनु पर्ने बताउनुभयो ।
कलेजले विद्यार्थीहरुलाई प्रदान गर्ने गुणस्तरीय शिक्षालाई आफ्नो क्याम्पसको प्रतिष्ठाको विषय बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
रुपन्देहीको सिद्धार्थनगर- ९ भैरहवामा अवस्थित रुपन्देही क्याम्पसको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले राज्यले गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरालाई दायित्वको रुपमा लिनुपर्छ भन्ने मान्यताका साथ प्रदेश सरकारले उच्च शिक्षाको गुणस्तरमा सुधारका लागि गतवर्षदेखि कलेजहरुलाई सहयोग गर्ने नीति अवलम्बन गरेको बताउनुभयो ।

कुनै पनि किसिमको गुणस्तरिय उच्च स्तरीय शिक्षा आर्जनका लागि विद्यार्थीहरु प्रदेशभन्दा बाहिर जानुपर्ने स्थितिको अन्त्य गर्ने तयारी प्रदेश सरकारले गरिरहेको छ । ‘अहिले एकाईसौ शताब्दीको शैक्षिक क्षेत्रमा भैरहेको प्रतिष्पर्धामा विद्यार्थीहरु क्याम्पसमा आउने, पढ्ने र सर्टिफिकेट लिएर जाने मात्रै नभई अहिलेको शिक्षा भनेको अनुसन्धानमुखी हुनुपर्छ’ उहाँले भन्नुभयो ।
कलेजहरुको संख्या बढाइ प्राध्यापकहरुको रोजगारी सिर्जना गर्ने कुरालाई भन्दा पनि विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने कुरालाई प्रतिष्ठाको विषय बनाउनु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै ५ नम्बर प्रदेश सभा सदस्य कल्पना पाण्डेले अहिलेको युग भनेको प्राविधिक र नैतिक शिक्षाको युग रहेको बताउनुभयो । पहिलेको जस्तो पुरानो शैक्षिक नीतिले अहिले विभिन्न क्षेत्रहरुका आवस्यकताहरु पुरा गर्न नसक्ने बताउदै अहिलेको आवश्यकता अनुरुपको शैक्षिक नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

रुपन्देही क्याम्पसले विद्यार्थीहरुलाई सुलभ मासिक शुल्कमा गुणस्तरिय शिक्षा प्रदान गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले यस क्याम्पसको स्तरोन्नतिका लागि आफुले प्रदेश सरकारमा ठुलो पहलकदमी गरेको जिकीर गर्नुभयो । आजको आधुनिक र प्राविधिक युगमा आवश्यक शिक्षाको महत्व बुझी सोहीअनुरुपको विषयवस्तु छनोट गर्नुपर्ने बताउनुभयो । ‘क्याम्पसको आर्थिक अवस्था कमजोर छ भन्दैमा क्याम्पस नै बन्द गर्नुपर्ने धारणा अब हटाउनुहोस्, क्याम्पसलाई के कस्तो खालको विषयवस्तु आवश्यक छ त्यसको कार्यविधि बनाउनुहोस प्रदेश सरकारले त्यसमा पहलकदमी गर्नेछ’ उहाँले भन्नु भयो ।

त्यस्तै क्याम्पस प्रमुख पार्थिवेन्द्र उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस क्याम्पसले हालसम्म प्राप्त गरेको सम्पुर्ण सफलतामा सम्पुर्ण विद्यार्थी, प्राध्यापक, समाजसेवी तथा विभिन्न संघसंस्थाहरुको महत्वपुर्ण योगदान रहेको बताउनुभयो । वि. स. २०४६ सालमा त्रि. वि. बाट सम्बन्धन प्राप्त गरी शुरुमा कानुन क्याम्पसको रुपमा स्थापित भएको थियो । पछि त्रि. वि. ले गरेको प्रमाण पत्रको खारेजी पछि पुन त्रि. वि. बाट २०६१ सालमा वि. एड. तथा २०६७ सालमा वि. वि. एस. सञ्चालनको सम्बन्धन प्राप्त गरी हालसम्म उक्त विषयको कार्यक्रम सञ्चालन भैरहेको बताउनुभयो ।

उहाँले विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्ययन गुणस्तर सुनिश्चितताको आधिकारिकताको प्राप्तिपछि स्नातक तहमा थप कार्यक्रम बि. बि. ए. र स्नातकोत्तर तहमा एम. बि. एस. र एम. बि. ए. सञ्चालन गर्ने पहल भैरहेको बताउनुभयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरी प्रसाद अधिकारी, सि.न.पा. ९ का वडा अध्यक्ष शेषकान्त भण्डारी, भूतपूर्व विद्यार्थी प्रख्यात बन्जाडे, दीपक कुमार थापा, प्राध्यापक मोतिलाल सुबेदी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सोही कार्यक्रमका बीच क्याम्पसले सञ्चालन गरेको विभन्न विधाहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो र साथै छात्रवृति पनि वितरण गरिएको थियो । कार्यक्रममा रुपन्देही क्याम्पस संस्थापक अध्यक्ष डा. रामप्रसाद बस्यालको अध्यक्षता, सामाजिक विकास मन्त्री सुदर्शन बरालको प्रमुख अतिथ्यता, प्रदेश सभा सदस्य कल्पना पाण्डे, सिद्धार्थनगर नगर प्रमुख हरि प्रसाद अधिकारीको विशिष्ट अतिथ्यता रहेको थियो भने बालकृष्ण भट्टराईको स्वागत मन्तव्य एवं लक्ष्मण ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्