राष्ट्रियसभामा नारायणकाजीको प्रवेश : भ्रष्ट हुनबाट जोगिनुपर्ने




सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारबाट राष्ट्रियसभामा प्रवेश पाएका छन् । गण्डकी प्रदेशबाट राष्ट्रियसभामा निर्र्वािचत श्रेष्ठले बुधबार नै शपथ लिएका थिए ।

शपथ कार्यक्रमपछि राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले आफूहरु भ्रष्ट हुनबाट जोगिनुपर्ने बताए । आफूहरुमा विचलन आएको स्वीकार्दै श्रेष्ठले भने,‘सत्ताको चरित्र थोरै निरंकुश हुने गर्छ। हामीले त्यसबाट बच्नुपर्छ। हामी सत्तामा छौं तर त्यस प्रकारको कुराबाट जोगिनुपर्छ । हामी भ्रष्टीकरणको प्रक्रियाबाट जोगिनुपर्यो । हामी सुविधा र स्रोत साधनको पछि लाग्यौं भने हुँदैन ।’

प्रतिपक्षीले रचनात्मक सचेत गराउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘होइन भने प्रतिपक्षी विरोधवादमा फस्छ । हामीले राजनीतिक प्रणालीमा त परिवर्तन गर्यौं तर हामीले आफ्नो दृष्टिकोणमा, अभ्यासमा परिवर्तन गर्न सकेनौं । त्यो भएन भने राजनीतिक प्रणालीमा समस्या आउन सक्छ ।’

लिम्पियाधुरालगायतको सबै भाग फिर्ताका लागि सबै शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए । लोकतन्त्रको अभ्यासमा एकता कायम गर्न आवश्यक रहेको दाबी गर्दै उनले भने,‘ठूलो संघर्ष गरेर लोकतन्त्र स्थापित भएको छ । हाम्रो आफ्नै मोडलको लोकतन्त्र हो । सामाजिक आर्थिक रुपान्तरण र विकासका लागि सहमति र सहकार्य गरेर जानुपर्छ । आर्थिक विकास भएन भने दुर्भाग्य हुनेछ । यसले लोकतन्त्रमाथि प्रश्न उठाउन सक्छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्