ओली–दाहाल बीच तीन घण्टा लामो छलफल सम्पन्न



काठमाण्डौँ, असार ३१
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच तीन घण्टा लामो छलफल भएको छ। बिहान ११ः३० बजे देखि शुरु भएको ‘वान अन वान’ वार्ता भर्खरै सकिएको छ।

२४ असार देखि दुई अध्यक्ष बीच वार्ता हुन सकेको थिएन। २६ असारमा बोलाइएको स्थायी कमिटी २ साउनसम्म स्थगित भएपछि दाहाल चितवन गएका थिए।

सोमबार दाहाल काठमाडौं आए पनि मंगलबार कुराकानी हुन सकेन। दाहाल बालुवाटार पुगेपनि बिना छलफल खुमलटार फर्किएका थिए।

बुधबार भने निकै लामो छलफल भएको छ। प्रधानमन्त्री र अध्यक्ष पदबाट ओलीको राजीनामा मागिए पछि नेकपा फुटको संघारमा पुगेको छ। तर, एक साता स्थायी कमिटी स्थगित भएपछि दाहालले चितवन पुगेर पार्टी विभाजन नहुने बताएका थिए। उनले दुई अध्यक्षलाई उक्साउने नेताहरु देखिए पनि विभाजनसम्म नपुग्ने बताएका थिए।

देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पनि विवाद पार्टीभित्रको आन्तरिक र नियमित प्रक्रिया भएको बताएका थिए। त्यस यता ओली र दाहाल बीच पहिलो पटक भेटवार्ता भएको छ।

१० असारदेखि शुरु भएको स्थायी कमिटी बैठक तिक्तता तर्फ अगाडि बढेपछि एक साताका लागि बैठक स्थगित गरिएको छ। नेकपाको सचिवालय र स्थायी कमिटीमा प्रधानमन्त्री ओली चरम अल्पमतमा परेका छन्। तर, ओली निकट नेताहरुले भने महाधिवेशनसम्म बहुमत र अल्पमतको कुरा गर्न नहुने बताउँदै
आएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्