पूर्वमन्त्री बोस्कोटाको निर्देशनमा भएको ठेक्कामा टेलिकमलाई १२ करोड घाटा



काठमाडौं । ७० करोड भ्रष्टाचार काण्डमा परेर राजिनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको ठाडो हस्तक्षेपका कारण नेपाल टेलिकमको एक ठेक्कामा करिव १२ करोड अनियमितता भएको पाइएको छ ।

बास्कोटाका विश्वासपात्र मानिने टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको ठाडो हस्तक्षेपपछि टेलिकमलाई ठाडै १२ करोड घाटा हुने गरी सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनी इन्सपुर सफ्टवेयर ग्रुपलाई ठेक्का नदिएर सबभन्दा बढी लागत प्रस्ताव गर्ने चाइना मोबाइललाई ठेक्का दिएको टेलिकम भित्र गाँइगुँई चलेको छ ।

२० करोड (१६ लाख ५० हजार डलर)मा गर्न सकिने गरी गरिएको प्रस्तावलाई छाडेर ३२ करोड २६ लाख (७० हजार अमेरिकी डलर) प्रस्ताव पेश गर्ने कम्पनीलाई टेलिकमले छनौटको आशयपत्र दिएपछि त्यसको सर्बत्र विरोध हुन थालेको छ । संचारमन्त्रीबाट राजीनामा दिएका बाँस्कोटाले अहिलेसमम पनि आफ्ना विश्वास पात्र अधिकारी मार्फत् नेपाल टेलिकममा हस्तक्षेप गरिरहेको टेलिकमका उच्च अधिकारी बताउँछन् ।

टेलिकम आफैले गरेको पूर्वयोग्यता मूल्यांकनमा योग्य ठहरिएका कम्पनीलाई कम मूल्य प्रस्ताव गरेकै आधारमा अस्वीकृत गरिएको छ भने बढी मूल्य प्रस्ताव पेश गर्ने कम्पनीको बोलपत्रलाई छनौटको आशयसहितको पत्र दिइएको छ । टेलिकमले अघिल्लो वर्ष साउन २२ गते एउटा ठेक्का आह्वान गरेको थियो । जसमा क्लाउड प्लेटफर्म, बिग डाटा वायरहाउस एण्ड एनालाइटिक्स सम्बन्धी सामानको आपूर्ति गर्ने, ढुवानी गर्ने र त्यसलाई ल्याएर स्थापना (इन्स्टलेसन) गर्ने कम्पनीलाई प्रस्ताव पेश गर्न भनिएको थियो ।

त्यो टेन्डर खुलेको डेढ महिनापछि अर्थात् सेप्टेम्बर २५ तारिखमै खोल्ने भनिए पनि १० दिन अघि अर्को सूचना जारी गर्दै त्यसको समय थप गरिएको थियो । टेलिकमले आह्वान गरेको सो टेन्डरमा ९ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । त्यसमध्ये ८ वटा कम्पनीलाई मूल्यांकन समितिले योग्य ठहर्याएको थियो । त्यसरी योग्य सूचीमा पर्ने कम्पनीमध्ये ५ वटा चिनियाँ, एउटा भारतीय, एउटा श्रीलंकन, एउटा नेपाली र भारतीय कम्पनीले संयुक्त रुपमा काम गर्नेगरी प्रस्ताव गरेका कम्पनी थिए ।

बोलपत्रमा सहभागी भएको सूर्या इन्टरप्राइजेजलाई भने मूल्यांकन समतिले अयोग्य ठहर्याएको थियो । सार्वजनिक खरिद नियामावलीको प्रावधान अनुसार पूर्वयोग्यता निर्धारणमा सफल भएका कम्पनीहरुमध्ये जसले कम मूल्यको बोलपत्र प्रस्ताव गर्छ, सोही कम्पनीलाई छनौट गर्नुपर्छ । तर, टेलिकमले भने १२ करोड रुपैयाँ भन्दा बढी व्ययभार पर्नेगरी बढी लागतसहितको बोलपत्र पेश गर्ने कम्पनीलाई आइतबार मात्रै छनौटको आशयपत्र (एलओआई) दिइसकेको छ ।
कम लागतको ठेक्का छाडेर धेरै लागत प्रसताव गर्ने कम्पनीलाई छनौट गर्ने आशय दिएकोमा चाइना मोबाइल भन्दा कम मूल्यमा ‘बिङ’ गर्ने तीनवटै कम्पनी असन्तुष्ट छन् । ती कम्पनीहरुले आशयपत्र दिइएको दिन आइतबार नै गुनासो दर्ता गराइसकेका छन् । आशयपत्र दिइएको ७ दिनभित्र त्यस्तो गुनासो दर्ता गर्नसक्ने व्यवस्था छ । तर टेलिकमले हाल कसैलाई पनि त्यसको जवाफ पठाइएको छैन । यसले राज्यको स्वामित्व रहेको टेलिकमको प्रतिस्पार्धात्मक क्षमता घट्दै जान्छ ।

यदि उनीहरुले त्यस्तो केही गरेनन् भने पनि २० करोडमा हुने कामलाई ३२ करोड भन्दा बढी तिर्न बाध्य पारेर टेलिकमलाई १२ करोडको नोक्सान हुन्छ । टेलिकमलाई १२ करोड बढी ठेक्कामा दिन बालुवाटारले अख्तियारलाई प्रभावित पारेको बताइन्छ । त्यस्तै सो ठेक्कामा ७० करोड भ्रष्टाचार काण्डपछि राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा र उपप्रधानमन्त्री इश्वर पोखरेलको पनि हात रहेको स्रोतको दाबी छ ।

डिल्लीराम अधिकारी नेपाल टेलिकमको प्रबन्ध निर्देशक भएदेखि नै टेलिकम निरन्तर घाटामा गइरहेको भन्दै टेलिकमकै कर्मचारीहरु नै अधिकारी बिरुद्ध आन्दोलनमा उत्रिएका थिए । नेपाल टेलिकमको फोर जी ठेक्कामा पनि चर्को अनियमितता भएको भन्दै पूर्वसञ्चार मन्त्री बास्कोटा र एमडी डिल्लीराम अधिकारीको अहिले पनि आलोचना हुने गरेको छ । समाजवाद डटकमले यो समाचार लेखेका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्