कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रका लागि १६ हजारको विवरण दर्ता



कञ्चनपुर / २३ साउन।
कञ्चनपुरमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियानअन्तर्गत तीन साताको अवधिमै १६ हजार ६९ जनाले विवरण दर्ता गराएका छन् ।

कारोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको बन्दाबन्दीपछि असार अन्तिम सातादेखि सञ्चालन गरिएको दर्ता अभियानअन्तर्गत जिल्लाका नौवटै स्थानिय तहमा ८६ जना कम्प्युटर अपरेटर आवश्यक सामग्री र उपकरणसहित परिचालन गरी दर्ता अभियान शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययका अनुसार राष्ट्रिय परिचयपत्र दर्ताका लागि स्थानीय तहका वडावडामा कम्प्युटर अपरेटर परिचालन गरी दर्ताको कार्य भइरहेको छ ।

“वितरण दर्ताका लागि जनप्रतिनिधिको सहयोग र रुजु अधिकारीका रुपमा वडा सचिवको सहयोग लिइएको छ”, उनले भने, “विवरण दर्ताको कार्य सन्तोषजनकरुपमा अगाडि बढी रहेको छ ।”

गत चैत महिनामा शुरु भएको अभियान भीमदत्त नगरपालिकाको वडा नं १८ बाट शुभारम्भ गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै बन्दाबन्दी गरिएपछि जारी अभियान स्थगित गरिएको थियो ।

सो अभियान पुनः असार महिनको अन्तिम सातादेखि सञ्चालन गरिएको छ । बन्दाबन्दीअघि १० हजार बढी व्यक्तिको विवरण दर्ता गरिएको थियो ।

कारोना भाइरस सङ्क्रमणको जोखिमबीच न्यूनतम सेवाग्राही उपस्थित गराएर विवरण दर्ताको कार्य गर्न र स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर भीडभाड नगर्ने नगराउने गरी सेवा लिन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्