ब्राह्मणवादको भ्रम र वास्तविकता



बाहुनवाद वा ब्राह्मणवाद वास्तवमा के हो ? सामान्य विचारधाराबाट प्रभावित जो कोहि ब्राह्मण समुदाय संग सम्बन्ध राख्ने मानिसहरू प्राय कतै ‘ब्राह्मणवाद मुर्दाबाद’ लेखेको पर्चा वा अभिव्यक्ति देख्दा आगो सल्किएझैं सल्किन्छन् र उक्त लेख वा लेखक प्रति घोर आपत्ति तथा उक्त अभिव्यक्तिलाई निन्दनीय ठहराउने प्रचलन अहिले पनि नेपाली समाजमा यथावतै रहेको छ। आखिर किन यस्तो ? ‘ब्राह्मणवाद मुर्दाबाद’ भनेर नारा लगाउदा आफूलाई कथित ब्राह्मण समुदाय भनेर परिभाषित गर्नेहरूले यस् नारालाई आफूहरू प्रति गरेको अप्रत्यक्ष गालीका रुपमा आत्मसात गर्दछन र आफुहरू प्रति अपमान गरेको बोध गराऊंँदछन् ।राज्यसंयन्त्र तथा प्रशासनिक व्यक्तित्वहरूले ब्राह्मणवादको विचारधारामा पुर्ण निहित रहेर गरिबीको रेखामुनि रहेका अती विपन्न वर्गहरूलाई ज्ञान र सत्ताको पैतालामुनी कुल्चिरहन्छन , त्यस्ता विचारधारा अंगालेका व्यक्तित्वहरू प्रति ती निमुखाहरूले ‘बाहुनवाद मुर्दाबाद’ भन्नू कसरी अपमान हुन सक्छ ? मधेसी, महिला, जनजाती, वा दलित वर्ग तथा समुदायहरूले आफूमाथी ज्यादती हुँदा आफूहरूलाई शोषण गर्नेहरू प्रति ‘बाहुनवाद मुर्दाबाद’ भन्नू कुन अर्थमा नकारात्मक हुन जान्छ ? ब्राह्मणवादको भ्रम र वास्तविकता बीचको पर्खाललाई बुझ्न निम्न विश्लेषणलाई पढ्न जरुरी छ ।
       ब्राह्मण शब्दका पछाडी ‘वाद’ प्रत्यय जोडिन पुग्दा यसको समग्र संरचना ब्राह्मणवाद हुन जान्छ । त्यसोभए के हो त ब्राह्मणवाद ? ऋग्वेदका अनुषार , ब्राह्मण भनेको कुनै विषेश जाती, धर्म वा समुदाय होइन ,  वेदको अर्को नाम ब्राह्मण हो र ब्राह्मण भनेको ज्ञान् हो । र ब्राह्मणमा ‘वाद’ (जसको अर्थ विचार हो) जोडिएर ब्राह्मणवाद भन्ने शब्दको जन्म हुन्छ । जसको अर्थ हुन्छ , ज्ञान भएका मानिसहरूमा निहित विचार । के सबै ज्ञान् भएका मानिसहरू सहयोगी, प्रेमिल, मिलनसार, समानता बोकेका, एकताको विचार भएका, मानिस – मानिस सबै एकै हुन भन्ने भावना बोकेका हुन्छन त ? पक्कै पनि हुदैनन् । तिनै ज्ञानी तथा दार्शनिकहरूको बिचमा पनि शोषक हुन्छन् जसका मानसपटलमा कुविचारहरू लटरम्मै फलेका हुन्छन । हो तिनै समष्टिगत विचारधाराहरूको व्यवहारलाई ब्राह्मणवाद र  त्यस्ता दर्शन निहित शिरोमणिहरूलाई ब्राह्मणवादी भनिन्छ ।
      त्रिभुवन विश्वविद्यालय , अंग्रेज़ी केन्द्रीय विभागमा हाल अध्यापन गराइरहनुभएका पश्चिमी तथा पुर्वीय इतिहास , दर्शन तथा साहित्यका ज्ञाता प्रोफेसर डा. कृष्णचन्द्र शर्मा भन्नुहुन्छ , बाहुन भनेकै ब्राह्मण हो जसको अर्थ “जान्ने” भन्ने हुन्छ । जसले अध्यापन गर्दछ , जसले अनुसन्धान गर्दछ , जसले पठनपाठन गर्दछ त्यो नै ब्राह्मण हो । त्यसैले अहिले संसारभरिका प्रोफेसर , डाक्टर , बैज्ञानिक , अनुसन्धानकर्ता सबै ब्राह्मण हुन । यसको कुनै विषेश जाती , समुदाय वा धर्म हुदैन । जसले ज्ञान प्राप्ती गरेको छ उ नै ब्राह्मण हो । एउटा शुद्र , जसले ज्ञान हासिल गरेको छ , भने उ पनि एक ब्राह्मण हो ।  अगाडि थप्नुहुन्छ , आफ्नो कर्तव्य र उत्तरदायित्वलाई बिर्सने , कुनै कुरामा पनि रुचि नराख्ने जस्तै बैंकिङ्ग , आर्थिक, व्यवस्थापन , सुरक्षाकर्मी , जो सुकै शुद्र हुन चाहे त्यो कथित ब्राह्मण समुदायकै किन नहोस् । यसले त ज्ञान र विचारलाई संज्ञा गर्ने रहेछ भने कसैले ‘ब्राह्मणवाद मुर्दाबाद’ भनेर नारा लगाएछन भने त्यो कसरी कसैका लागि निन्दनीय हुन सक्छ ,  अपमानको विषय हुन सक्छ ? राम्रो पठनपाठन गरेर ज्ञान आर्जन गरेक व्यक्तिहरूले गरिब , असहाय , सिमान्तकृत , महिला , जनजाती , दलित , मधेसी लगायत पिछडिएका वर्गहरू प्रति शोषण गर्दछन् , दमन गर्दछन् वा विभेद गर्दछन् भने त्यस्तो अवस्थामा ‘ब्राह्मणवाद मुर्दाबाद’ भनेर आफुहरू प्रति ज्यादती गर्ने शिक्षित वर्गहरूमाथी निन्दनीय भाव प्रकट गर्नु कसरी कसैका लागि साम्प्रदायिक आक्षेपको मुद्दा हुनसक्छ ?
     ब्राह्मणवादी विचारधारामा सामान्यतया कस्ता विचारहरू निहित हुन्छन त ? राजेन्द्र शाह बि पि लेख्नुहुन्छ “आफुले आर्जन गरेको ज्ञानको आधारमा आफ्नो भाषा , धर्म , संस्कृति तथा विचारलाई अरुमाथी लादने गर्नु । वैचारिक विभेद , उत्पीडन , अन्याय , अत्याचार , दमन , तथा शोषण गरेर अरुमाथी आफ्नो प्रभुत्व कायम गर्नु । आफू ज्ञानि भएरपनि जसले परिवर्तन चाहदैन , टुनामुना र चमत्कारमा बिश्वास गर्छ , धार्मिक रुढतामा आस्था राख्छ , जातिय भेदभाव र छुवाछुतमा बिश्वास राख्छ । जो बिज्ञानको विपरीत धारामा हिड्न खोज्ने प्रवृत्तिका हुन्छन , हो तिनै हुन ब्राह्मणवादी विचारधारालाई आत्मसात गर्नेहरू । र तिनकै विरुद्धमा घन्किन्छन् ‘ब्राह्मणवाद मुर्दाबाद’ जस्ता नाराहरू । यसमा कथित ब्राह्मण समुदायका मानिसहरूले चित्त दुखाउनुपर्ने , आक्रोशमा आउनुपर्ने कुनै कारण नै छैन , सबै प्रष्ट छ । ब्राह्मण समुदायका मानिसहरूसंग मात्र यस्ता विचारहरू छन भनेर कसैले दावी गर्ने ठाउँ पनि छैन । किनभने ज्ञानको अहम्ता सबैसंग छ । दलित समुदायभित्र पनि माथी उल्लेखित विचारधारा बोकेका मानिसहरू थुप्रैछन । जनजातीहरूमा पनि यस्ता विचारधाराबाट प्रभावित जनशक्तिहरू अथाह छन । यसो भन्दैगर्दा , माथी उल्लेखित नारा ‘ब्राह्मणवाद मुर्दाबाद’ लाई सम्झिउँ । ‘ब्राह्मणवाद मुर्दाबाद’ भनेर नारा लगाउनु – कुनै समुदाय , व्यक्ति, धर्म वा संस्कृतिलाई होच्याएर साम्प्रदायिक हिंसाको बाटोलाई मर्मत गर्न खोज्नु होइन , बरु उक्त नाराको मुख्य उदेश्य भनेको नै हाम्रो समाजमा बनावटी जरा गाडेर बसेका कुप्रथाहरू र ज्ञानले जन्माएका कुविचारहरूलाई मुर्दाबाद भनेको हो , बाइकोट् भनेको हो ।
     कसैले ‘ब्राह्मणवाद मुर्दाबाद’ भनिरहदा कुनै व्यक्ती वा समुदायले यो अभिव्यक्ति म/हामी संग सम्बन्धीत छ र यसले हाम्रो विरोध गरेको हो भन्ने मानसिकता कहिँकतै पलाइहाल्यो भने , तुरन्तै खारेज हुनुपर्दछ । कार्लमाक्सले आफ्नो विचार माक्सवादलाई यो जर्मनीको मात्रै विचार हो भनेर कतै दावी गरेको छ ? र यो विचार जर्मनहरूले बाहेक अरुले अनुसरण गर्न पाउदैनन् भन्ने तथ्य छ वा माक्सवादको बिरोध गर्नु पुरै जर्मनीको विरोध गर्नु हो भनेर कहिल्यै समाचार आएको छ ? लेनिनले आफ्नो विचार लेनिनवादलाई रसिया र रसियनहरूसंग मात्रै सम्बन्धित छ भनेर भनेका छन ? पक्कै छैनन् , किनभने यो विचारधारा हो । जसलाई किफायती लाग्छ उनिहरूले आत्मसात गर्छन भने जसलाई यस् विचारधाराले नोक्सान पुर्याउछ , उनिहरूले पक्कैपनी विरोध गर्छन । यहि विचारको बिस्वव्यापी नियम हो भने ब्राह्मणवादी  विचारले जुन व्यक्ती वा समुदायलाई अपत्तिजनक अवस्थामा पुर्याउने चेष्टा राख्दछ , उक्त विचार प्रति मुर्दाबाद भन्नुमा कसरी कुनै व्यक्ती , समुदाय वा धर्म विशेषको अस्मितामाथी लात हान्न खोजेको अनुभूति हुनसक्छ ?
      यसकारण , दलित होस् वा जनजाती , मधेसी होस् वा कुनै उत्पीडित वर्ग जसले आफू ब्राह्मणवाद विचारधाराबाट शोषित छु , पिडित छु , दबिएको छु भन्ने कुराको अनुभूति गर्ने वितिक्कै सडकमा गएर ब्राह्मणवादका विरुद्ध नारावाजी गर्छ भने , यसको मतलब यो होइन कि उसले कुनै ब्राह्मण वा क्षेत्री समुदायलाई विरोध गरेको हो बस् यसको मतलब हुन्छ ब्राह्मणवादका विरुद्ध नारावाजी गर्ने उक्त व्यक्ती ब्राह्मणवादी विचारधाराबाट विभेदित भएकोछ । जुन विचारधाराले दलित समुदायलाई मान्छे भएर पनि मान्छेको दर्जा दिदैन , जुन विचारधाराले जनजातीको इतिहास र संस्कृतिलाई कदर गर्दैन , जुन विचारधाराले मधेसी , पिछडिएका वर्ग तथा महिलाहरूको शोषण मात्रै गर्छ भने , त्यस्तो विचारधाराका विरुद्ध आवाज उठाउनु , नारावाजी गर्नु न अपराध हो न कुनै व्यक्ति वा समुदाय विषेश प्रति अन्याय वा अत्याचार ।
     मान्छेलाई नै मान्छेले , ‘त’ म भन्दा सानो अनि ‘म’ त भन्दा ठूलो भन्ने ब्राह्मणवादी विचार कसरी सहनशील हुन सक्छ ? मेरो इतिहास र संस्कृति नै अरुको भन्दा सर्वश्रेष्ठ भन्ने मानसिकता कसरी विरोधाभास नहुन सक्ला ? भौतिक वा बैचारिक रुपले विभेदित ढंगबाट पुरुष र महिलाले गर्ने कार्यहरूको बाडफाँड गर्ने ब्राह्मणवादी विचारधारा कसरी लैङ्गिक विभेदको विषयबस्तु नहुन सक्छ ? जुन विचारधाराले कुनैपनी व्यक्ति , समुदाय तथा संस्कृतिको अवहेलना , शोषण , तथा भेदभाव गर्दछ भने उक्त विचार कसरी अकाट्य हुनसक्छ ? जसरी समकालीन पश्चिमी समाजमा रहेका प्रोटेस्टेन्टहरूले क्याथोलीकहरूको विरोध गरे जसको कारण थियो क्याथोलिक विचारधारा जुन प्रोटेस्टेन्टहरूका लागि शोषणयुक्त रहेको थियो । त्यसैले प्रोटेस्टेन्टहरूले ‘क्याथोलिसिज्म मुर्दावाद’ भनेर विरोध गर्दा उनिहरूले कुनै व्यक्ति विषेशलाई विरोध गरेका थिएनन् । जसले उनिहरूमाथी शोषण , दमन र विभेद गरेका थिए उनिहरूप्रति नै आपत्ति जनाएका थिए । विरोध भनेको उक्त शोषन प्रतिको ठाडो प्रतिकार हो जसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ। तर नेपाली समाजमा हुनेगरेका विरोधहरूलाई उल्टै नकारात्मक वा धर्म विरोधीको नामाकरण गरिन्छ । जसले गर्दा समाज परिवर्तन गर्ने आवाजहरू पनि अपाङ्ग भएर आउंँछन् ।
     वरिष्ठ समाजशात्री तथा संस्कृतिविद् डोर ब. बिष्टका अनुषार , ” ब्राह्मणवाद भनेको एउटा दृष्टिकोण हो , दर्शन हो । यस् दर्शनमा अरूलाई होच्याँएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जाति विषेशलाई मात्र जन्मदै ठूलो र पूजनीय भनि उपल्लो तहमा राख्दछ। ” यसबाट पनि के प्रष्ट हुन्छ भने , ब्राह्मणवाद भनेको एक विशुद्ध विचारधारा हो । जसको उदेश्य डोर ब. बिष्टले आफ्नो परिभाषामै प्रष्ट्याएका छन । यदि एउटा कथित ब्राह्मण , जनजाती वा दलितले ‘मेरो राजनैतिक , साँस्कृतिक , धार्मिक तथा सामाजिक स्तर अरु मानिसहरूको सरह नै महत्त्वपूर्ण छ’ भनेर समानताको भाषामा अभिव्यक्ति दिन्छ भने , त्यो मान्छे ब्राह्मणवादी विचारधाराबाट ग्रसित भएको छैन भनेर बुझ्नुपर्दछ । तर कुनै ब्राह्मण , जनजाती , दलित , महिला , पिछडिएको वर्ग , व्यक्ति वा समुदायले ‘मेरो जात ठूलो , मेरो स्तर उच्च , मेरो संस्कृति सर्बोत्कृष्ट वा मेरो धर्म उत्तम’ भन्ने जस्ता अभिव्यक्तिहरू जाहेर गर्दछ भने , चाहे उक्त व्यक्ति जुनसुकै समुदायसँग सम्बन्धित होस् , उ विशुद्ध ब्राह्मणवादी हो ।
     दलित समुदाय भित्र पनि त ब्राह्मणवादको पराकाष्ठा झल्किएको छ । डोम , मुसहर , चमार , बादी , सार्की जस्ता जातहरू भन्दा मेरो जात ठूलो भन्ने परियार , दमाई आदि पनि बाहुनवादी विचारधाराबाट चिरपरिचित जातिहरू हुन । त्यसैगरी परियार , दमाई , नागरी आदि जातहरूलाई बिश्वकर्मा , रसायली , सुनार , लोहनी , तमटा (ताम्राकार) आदि जातहरूले आफुहरू उनिहरूभन्दा उच्च ओहोदाका र अब्बल हौं भन्ने विचारधारा पनि त ब्राह्मणवादको जीउँदो उदाहरण हो । दलितहरूबाट दलित विभेदित छन , मधेसीहरूबाट मधेसीहरूनै शोषित छन , महिलाहरूबाट नै महिलाहरू उत्पिडनमा छन , जनजातिहरूबाट नै जनजातिहरू हेपिएका छन । ब्राह्मण समुदायभित्र पनि त विभेदको चोखो वातावरण छ । हो यहि विभेदित तथा शोषणयुक्त विचारधाराको परम्परागत खेती नै ब्राह्मणवाद हो । तसर्थ , ब्राह्मण समुदायसँग सम्बन्धित व्यक्तित्वहरूले ‘ब्राह्मणवाद मुर्दाबाद’ भनेको सुनेछन भने , एउटा विनम्र अनुरोध छ – यस् अभिव्यक्तिले मेरो वा मेरो समुदायको भौतिक तथा धार्मिक आस्थाप्रति कुनैपनी किसिमको असर पर्ने गरी गरिएको विरोध वा आक्षेप होइन , भनेर सम्झिदिनुपर्दछ । र , विचारले आफूलाई उच्च , जातले आफूलाई उच्च , ज्ञानले आफूलाई उच्च ठाँनेर अरुलाई विभेद गर्ने , शोषण गर्ने विचारधाराको विरोध मात्रै हो भनेर पनि बुझिदिनु आवश्यक छ ।
     यस्तो विचारधारा , ब्राह्मण , दलित मधेसी , जनजातिहरू लगायतका सम्पुर्ण समुदायहरूमा जरा गाडेर बसेको छ । जुन विचारको उपज नै आजको हाम्रो अविकसित समाज र देश हो । र यस्ता कुविचारहरूका बिरुद्ध उठेका आवाजहरूलाई निन्दनीय सम्झिनु कुनैपनी व्यक्ति तथा समुदायको मुर्खता हो । ब्राह्मणवादको वैचारिक भ्रमलाई तोडेर अब वास्तविकताको तराजुमा यस् सँग सम्बन्धित विचारहरूलाई राखेर केलाउँनु अपरिहार्य छ । नकेलाएका चामलहरू पकायौ भने पछि खादा आफ्नै दाँतमा  लाग्ने खतरा हुनसक्छ भन्ने सम्भावनालाई बेवास्ता गरेउ र त्यस्ता विचारधाराहरूलाई केलाएनौ भने , भोलि हाम्रो समाज हिंसाको पत्थरीबाट झन सिकिस्त हुनसक्छ । जसको असर समग्र समाजमा पर्ने खतरा हुन्छ । ब्राह्मणवादको विचारधारालाई एकलौटी भ्रमित आवरणले कसक्कंँ कसेको छ जसरी एउटा बाघले आफ्नो सिकारलाई झम्टिसकेपछी छटपटाउने सम्मको छुट नदिन कुनै कसर बांँकी राख्दैन । त्यसकारण विचारको यस्तो एकलौटी र जिद्दी आवरणलाई हाम्रो मानसपटलबाट अलग्याएर समतामुलक विचारको आवरणलाई सम्पुर्ण समुदायको मानसपटलमा लेपन गर्नु नै आजको व्यक्ति , समाज र राष्ट्रको चाहना हो ।  अन्तमा , ब्राह्मणवाद विरुद्धका नाराहरूलाई व्यक्तिगत तथा सामुदायिक अस्मितामाथी उठेका निन्दनीय प्रश्नहरू नसम्झेर व्यक्तिगत तथा सामुदायिक  कुविचारहरूको कारणले निम्त्याएका तमाम उत्तरहरूको समष्टिगत नतिजा हो भनेर बुझ्नुंँपर्दछ ।
अनिता नेपाली
धनगढी – २ , कैलाली

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्