बैठक बोलाउन ४८ घण्टे अल्टिमेटम



काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताबीचको छलफल सकिएको छ।बिहान ११ बजेदेखि बसेको बैठक दुई घण्टा चलेको थियो। छलफलमा बहुमत सदस्यले दुईदिनभित्र सचिवालय बैठकका लागि आग्रह गरेका छन्।

उनीहरुले तत्काल सचिवालय बैठक बस्न सहमतिका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई लिखित आग्रह पनि गरे। छलफलका क्रममा तत्काल पार्टी सचिवालय बोलाउन अध्यक्ष ओलीलाई आग्रह गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार सके भोलि नभए पर्सी सम्ममा बैठक बोलाउन आग्रह गरिएको उनले बताए।

तर ओलीले कुनै निष्कर्ष नदिएको प्रवक्ता श्रेष्ठले बताए। उनले पार्टीका देखिएको विवाद पार्टी बैठकबाट समाधान गर्नु पर्ने विषयमा छलफल भएको बताए। पार्टीका निर्णयहरू कार्यान्वयन विषयमा विशेष जोड दिएको नेताहरूको भनाइ छ। पार्टीमा देखिएको पछिल्लो विवाद समाधान र पार्टी एकताको रक्षाका लागि शीर्ष नेतृत्व गम्भिर हुन नेकपाका नेताहरुले आग्रह गरिरहेका छन्। बालुवाटार जानुअघि बहुमत सचिवालय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए।

सचिवालय बैठक बोलाउन ओलीलाई सामूहिक रुपमा आग्रह गर्न अध्यक्ष प्रचण्डसहित पाँच शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए। बिहानको छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बोलाएको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्