चीनले चाहे जुट्ने, भारतले चाहे फुट्ने पार्टी नेकपा होइनः योगेश भट्टराई



काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाल पारिको संकेतबाट जुट्ने वा मैदान पारिको सक्रियताबाट फुट्ने पार्टी नेकपा नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले नेकपा घरेलु बीउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी भएकोले कसैको संकेत र सक्रियताले पार्टी फुट्ने र जुट्ने नहुने बताए।

नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेपालमा छिमेकी राष्ट्रका प्रतिनिधिहरूबाट हुने गतिविधि महत्त्वका साथ हेर्ने गरिन्छ। केही समय पहिले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्त गोयल र केही अघि चीनकी राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए। नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला उनीहरूको भेटलाई पार्टीको विवादसँग जोडिएर विश्लेषण हुने गरेको छ।

सोही सन्दर्भमा मन्त्री भट्टराईले भारत र चीनतर्फ संकेतत गर्दै कसैको संकेत र सक्रियताले पार्टी फुट्ने र जुट्ने नहुने बताएका हुन्। उनले यो उक्ति अरू कसैमा लागू भए पनि नेकपाको शरीरमा फिट नहुने तर्क गरे। नेकपा जैविक र नेपाली विशेषताको मौलिक पार्टी भएकोले यसको विकास वा विनाश यसैभित्र अन्तर्निहित रहेको उनको भनाइ छ।

अहिले नेकपाका हरेक सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेको कुरा सत्य भएको भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘घरेलु (नेपाली ) बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा। यसको विकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रविधिको प्रयोग गरिएको छैन। नेकपा जैविक र नेपाली विशेषताको मौलिक पार्टी हो। यसको विकास वा विनाश यसैभित्र अन्तर्निहित छ।’

एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा विभाजनको इतिहासलाई क्रमभङ्ग गरी एकताको इतिहास निर्माणको परिणाम रहेको उनले बताएका छन्।

भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्ः

घरेलु (नेपाली )बिउ, मल र हावापानीले उम्रिएको, हुर्किएको, बढेको र फैलिएको पार्टी हो नेकपा। यसको विकास र बिस्तारमा कुनै आयातित मल, बिउ र प्रविधिको प्रयोग गरिएको छैन। नेकपा जैविक र नेपाली विशेषताको मौलिक पार्टी हो। यसको विकास वा विनाश यसैभित्र अन्तर्निहित छ। ‘हिमाल पारीको संकेतबाट जुट्ने वा मैदान पारीको सक्रियताबाट फुट्ने’ यो मान्यता नेकपाको शरीरमा फिट नहुने सोच वा औषधी हो। अरू कसैमा यो उक्ति लागु हुनसक्छ।

त्यो उनीहरूले नै जान्ने कुरा हो। एमाले र माओवादीबिचको एकताबाट बनेको नेकपा विभाजनको इतिहासलाई क्रमभङ्ग गरी एकताको इतिहास निर्माणको परिणाम हो। यो सत्य हो अहिले नेकपाको हर सदस्यले सर्वाधिक कठिन क्षण भोगिरहेका छन्। यो अवस्थामा प्रत्येक सदस्यका दुई हातमा
पानी कि पेट्रोल ?
पेट्रोलले ऊर्जा
पानीले ऊर्जा र जीवन
नेपालमा पानीका मुहान सुकेका छैनन् !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्