दबाव र धम्किबाट अदालतलाई जोगाउँछौं: दाहाल-नेपाल समूह



काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल गरेको छ । नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले आज संयुक्त अपिल जारी गर्दै सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि सम्पूर्ण चेतनशील नागरिकलाई आह्वान गरेका छन् ।

विगतमा भएका कतिपय कमजोरीप्रति सजग हुँदै भविष्यमा नदोहोरिउन् भन्ने कुरामा आफूहरु सचेत रहेको प्रष्ट पार्दै उनीहरुले प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सामेल हुन सम्पूर्ण जनसमुदाय, राजनीतिक दल, नागरिक समाज, मतदाता, कार्यकर्ता, शुभेच्छुक र समर्थकलाई आह्वान गरेका छन् ।

“हामी संविधान मान्छौंँ, लोकतन्त्र मान्छौंँ । प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता लगायत सम्पूर्ण नागरिक अधिकार जनताले निर्वधरुपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा अडिग छौँ । शक्ति पृथकीकरणको सिद्धान्तलाई हाम्रो संविधानले आत्मसात् गर्दै स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको छ ।

न्यायपालिकाको स्वतन्त्रतालाई हामी सबैले सम्मान गरेका छौँ”, दाहाल–नेपालद्वारा जारी अपिलमा भनिएको छ, “सर्वोच्च अदालतमाथि हाम्रो विश्वास छ तथापि वर्तमान अवस्थामा जे-जस्ता परिदृश्यहरु देखापरेका छन्, त्यसले अदालत र हामी सबै सजग रहनुपर्ने अवथा उत्पन्न गराएको छ ।”

अदालतको संविधानसम्मत फैसलाले नेपालको लोकतन्त्रलाई सही मार्गमा अग्रसर गराउने र संविधानलाई सक्रिय पार्ने विश्वास गर्दै उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने निर्णयसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानसम्मत फैसला दिने विश्वास व्यक्त गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्