नेकपाको बृहत प्रदर्शन आज : ५ स्थानबाट जुलुस निकाल्ने तयारी



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षले आज (बुधबार) काठमाडौंमा बृहत प्रदर्शन गर्ने भएको छ। नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार आज काठमाडौंका मुख्य ५ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ।

औपचारिक रुपमा विभाजित नभए पनि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका दुई पक्षबिच शक्ति प्रदर्शनको होडबाजी कायमै छ। पुस २३ गते सत्तारुढ नेकपाले राजधानीको दरबारमार्गमा शक्ति प्रदर्शन ग¥यो भने त्योभन्दा ठूलो शक्ति पुस २८ मा देखाउने घोषणा ग¥यो आन्दोलनमा रहेको समूहले।

सत्तारुढ नेकपाको शक्ति प्रदर्शनमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे भने आज हुने आन्दोलनरत समूहको शक्ति प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने छन्। बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने तयारी प्रचण्ड माधव समूहले गरेको छ। राजधानीका पाँच स्थानबाट जुलुस निकाल्दै प्रदर्शन गर्ने नेकपाले जनाएको छ।

जुलुस निस्कने ५ स्थानमा विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ। जसमा पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमल रहेका छन्। पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नेताहरु प्रमेश हमाल तथा संघ–प्रदेशका सांसदहरुले गर्ने छन्।

त्यसैगरी त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, मुकन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठ लगायत केन्द्रीयय कमिटी सदस्यहरुले गर्नेछन्। यो टोलीमा सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरु समेत रहनेछन्।

माइतीघरबाट निस्कने जुलुसमा नेताहरु अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल तथा केन्द्रीयय कमिटीका सदस्यहरु, सम्बन्धित प्रदेश कमिटी, संघ तथा प्रदेशका सांसदहरूले नेतृत्व गर्नेछन्।

नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत, केन्द्रीय कमिटी सदस्यहरु, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरुले केशरमहलबाट निस्कने जुलुको नेतृत्व गर्नेछन्।

जमलबाट निकाल्ने जुलुसमा लिलामणि पोखेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने केन्द्रीय संघर्ष समितिले जनाएको छ। मुल जुलुस भने सुनधाराबाट सुरु हुनेछ। सबैतिरका जुलुस मुल जुलसमा परिणत भएपछि वीर अस्पताल, जमल, घण्टाघर, बागबजार पुतलीसडक, पद्मोदय मोड हुदै प्रदर्शनीमार्ग पुगेर सभामा परिणत हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्