जसपा फुटाउँदै ओली : उपेन्द्र,महन्थ र भट्टराई बिच चर्काचर्की



काठमाडौं । आगामी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसदको चौथो दल जनता समाजवादी पार्टी मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठबन्धनकै विषयले आन्तरिक कलह उत्पन्न भएको हो ।

सांसद रेशम चौधरीको रिहाइ लगायत मुद्दा र सत्ता समीकरणकै विषयमा छलफल गर्न सरकार र जसपाले कार्यदल बनाएको विषय मंगलबार नै सार्वजनिक भएपछि जसपाभित्र अन्तरविरोध बढेको हो ।

जसपा अध्यक्ष महन्थ ठाकुरले चौधरीको रिहाइका विषयमा छलफल गर्न भन्दै आइतबार नै दुई सदस्यीय कार्यदल बनाएको जानकारी अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र पार्टीका अधिकांश नेताले मंगलबार मात्रै पाएका थिए । ठाकुरले कार्यदल बनाएको जानकारी संसदीय दलको बैठकमा गराएका थिए । त्यसपछि बैठकमै नेताहरूबीच केहीछिन चर्काचर्की परेको थियो ।

प्रधानमन्त्री केपी ओलीसँग गठबन्धन गर्न ठाकुरले पार्टीमा जानकारी नै नगराई कार्यदल बनाएको बुझाइ यादव पक्षको छ । यादव र भट्टराईसहित उनीपक्षीय नेताहरू कांग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन गर्नुपर्ने पक्षमा छन् । चर्को विरोधपछि ठाकुरले संसदीय दलको बैठकमा सांसद चौधरीको रिहाइका लागि मात्रै कार्यदल गठन भएको दाबी गरेका थिए ।

तर, अन्तर्यमा यो कार्यदलले सत्ता गठबन्धनको विषयमा समेत छलफल अघि बढाइसकेको स्रोतको दाबी छ । ठाकुर निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीकै सल्लाहमा ठाकुरले नेताद्वय सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई कार्यदलमा राखेका हुन् ।

कार्यदलका सदस्य शुक्ल र कर्ण दुवै पूर्वराजपा नेता हुन् । सरकार पक्षबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री एवं पार्टी उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई कार्यदलमा छन् । कार्यदलका सदस्यबीच सोमबार बालुवाटारमै वार्ता भएको थियो ।

एमाले नेता नेम्वाङले जसपाका नेताहरूसँग सांसद चौधरीको रिहाइका विषयमा मात्रै छलफल भएको बताए । ‘उहाँहरूले चौधरीलाई रिहाइ गर्नुपर्ने मुद्दा उठाउनु भयो,’ उनले भने, ‘हामी प्रधानमन्त्रीलाई भन्छौं, त्यसपछि के हुन्छ, टुंगोमा पुगौंला भन्यौं । अन्य विषयमा छलफल भएन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्